नेपालगन्जमा फागुन १६ देखि २६ गतेसम्म प्रादेशिक महोत्सव हुदै
  • काँचुली खबर

नेपालगन्ज  – स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य का साथ नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी फागुन १६ देखि २६ गतेसम्म प्रादेशिक महोत्सव आयोजना गर्ने भएको छ । स्वदेशी उत्पादनमा भर परौं, स्वाधिन अर्थतन्त्रको निर्माण गरौं भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष नन्दलाल वैश्यले यस बर्षको महोत्सवलाई पहिले भन्दा विशेष बनाउने योजना बनाइरहेको बताएका छन् । संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले यसपटक महोत्सवमा पहिलो प्राथमिकता स्थानीय उत्पादन प्रवद्र्धन हुने बताएका छन् । ‘पहिले स्थानीय अनि प्रदेश र संघका उत्पादनलाई महोत्सवमा प्राथमिकतामा राखिनेछ’, उनले भने । उनले महोत्सवमा अवलोकनकर्तालाई आकर्षित गर्न स्थानीय, राष्ट्रिय कलाकार भित्र्याउने बताए ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बाँकेमा उद्योगहरु थपिंदै गएकाले तिनका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रादेशिक महोत्सव आयोजना हुन लागेको जानकारी दिए ।  संघका अध्यक्ष नन्दलाल वैश्यले महोत्सवबाट हुने बचत बहुउद्देश्यीय सभागृह र व्यवसायीक हितका लागि खर्च गरिने जानकारी दिए ।
यस भन्दा पहिला गरिएको महोत्सवबाट करिब २ देखि ३ करोड रकम संकलन गरिसकेको र यस महोत्सवबाट थप रकम संकलन गर्ने उदेश्य रहेको उनले बताए । 

महोत्सवका प्रचार संयोजक टंक सिंह धामीले महोत्सवबारे पत्रकारहरुलाई जानकारी गराएका थिए । महोत्सवका लागि २१ वटा उपसमिति बनाइएको धामीले जानकारी दिएका छन्

  • १३ पुष २०७५, शुक्रबार १४:०६ प्रकाशित
  • Nabintech