ख्रीष्टमस पर्व अथवा बडादिनको उत्सव चारैतिर फैलिएको छ । शिशिरयामको चिसो सिरेटोलाई पनि बेवास्ता गर्दै बालक, जवान, बृद्धसम्म ख्रीष्टमस पर्वमा झुम्मिएका छन । प्रत्येक इसाई समुदायको घर आँगानमा देखिने क्यारोलको रमझमले त झन यस पर्वको रौनकता नै थप बढाई दिएको छ । अध्याँरो चिसो रात झिलीमिली बत्तीले उज्यालो पारिएको छ भने प्रत्येक मण्डली (चर्च), घर मात्र होइन, शहर बजारमा ख्रीष्टमस बिशेष कार्यक्रमको भब्य आयोजना पनि गरिएको छ । रातो रंगको फ्लपि टाउकोमा टोपी र अन्य विभिन्न खाले पहिरनमा सजिएका ब्यक्तिहरुको आवत जाउत सगैं ठाउँ-ठाउँमा मनै लोभ्याउने क्रिसमस ट्रि राखीएका दृष्यहरु प्रशस्तै भेटिन्छन । अग्रेंजी क्यालेन्डर अनुसार डिसेम्बर २५ अर्थत पौष १० गते इसाई समुदायले एक आपसमा खुसीयाली साटा साट गर्दै बडो हर्षोउल्लासका साथ ख्रीष्टमस डे पर्व मनाउने गर्दछन ।
पवित्र बाइबलको मत्ति १ को १८-२५ पद र लुका २ को १ देखी ७ पद सम्म येशु ख्रीष्टको जन्म बारे उल्लेख गरिएको छ । प्रभु येशु ख्रीष्टको जन्म आजभन्दा २ हजार बर्ष अघि भयो । “आफना मानिसहरुलाई तिनीहरुका पापबाट बचाउन” उहाँको आगमन भएको यही खुसीयालीमा संसारभरीका ख्रीष्टीयजनहरुले जन्मोसत्व मनाउने गर्छन । विश्वका धेरै मुलुकमा डिसेम्बर एक देखी जनवरी एक सम्म नै ख्रीष्टमस पर्वको चहल-पहल हुने गर्दछ । नेपालमा पनि डिसेम्बर १ गते देखी नै ख्रीष्टमस पर्वको चहल-पहल शुरु हुन्छ । भने डिसेम्बर १ गते देखी नै ख्रीष्टीयनहरुले क्यारोल खेल्न थाल्दछन । उपहार साटा साट गरेर एक आपसमा प्रेम साटने चलन ख्रीष्टमसको अर्को बिशेषता हो । विलियम पार्कसका अनुसार “ख्रीष्टमस कुनै दिन या उत्सव मात्र होइन जसलाई मनायो, अनि चाँडै बिर्सिदियो । यो एउटा आत्म हो जुन हाम्रो जीवनको हरेक भागमा ब्याप्त हुनुपर्छ ।” इसाई समुदायका वरिष्ठ पास्टर धनवीर कर्नेलियस तामाङ्ग भन्नुहुन्छ, प्रभु येशु ख्रीष्टको जन्मोसत्वलाई नै ख्रीष्टमस भनिन्छ, “जुन समय प्रभु येशु इजरायलको राजधानी येरुसेलको नजिकै रहेको बेथलेहेम गाउँमा जन्मनुभयो । अनि त्यसै समय देखी नै ख्रीष्टमसको शुरु भएको हो, किन भने उहाँ जन्मनु हुदाँ खेरी ज्योतिषिहरु उहाँको पासमा गएर, उहाँलाई दण्डवत गरेर सुन, सुगन्धित धुप र मुर्रका भेटी चढानुभएको थियो, यो नै ख्रीष्टमसको शुरु हो । जन्मोसत्व मनाउदाँ खेरी येशु मसिह प्रतिको ताजा संम्झना हुन्छ र प्रशास्त आषिस प्राप्त हुन्छ ।”
ओरेन अर्नोल्डको भनाई अनुसार ख्रीष्टमसका उपहारहरु, तपाईको शत्रुलाई क्षमा, बिरोधीलाई सहनशिलता, मित्रलाई तपाईको हृदय, ग्राहकलाई सेवा, सबैलाई सौर्हादता, हरेक बच्चालाई असल उदाहरण, आफैलाई आदर हुन । ख्रीष्टमस पर्वमा खासगरी इसाई समुदाय विश्वासीहरुकोे घर-आगँनमा बाजागाजा सहित गएर संयुक्त संगती, प्रार्थानाको आयोजना गरि गाउँदै, नाच्दै क्यारोल खेल्ने गर्दछन । क्यारोल खेल्न गएकालाई स्वागत गर्दै प्रार्थना, सु-समाचार नाँचगान पछि घरमा उपलब्ध भएकाले खाना, खाजा दिने गर्छन भने नभएकाले धन्यबाद मात्र दिई विदाई गर्ने गर्दछन । ख्रीष्टमसका अवसरमा आशिष दिने, साथमा आउँदो अंग्रेजी नयाँ वर्षको पनि अग्रिम शुभकामना दिने चलन छ । इसाई समुदायको आस्थाको केन्द्र धरोहर मानिने विभिन्न मण्डली (चर्च) हरुलाई झिलीमिली बत्ति, ख्रीष्टमस ट्री लगायतका विभिन्न सजावटका सामाग्रीहरुले सजाउने काम हुन्छ । त्यसैगरी गच्छे अनुसार मिठा खानेकुरा, फलफुल, मिठाई खाई एक आपसमा खुसीयाली साट्ने र रमाईलो गर्ने अनि एक अर्काको लागी प्रार्थना गर्ने, शुभकामना दिने गरिन्छ । पछिल्ला दिनहरुमा अन्य समुदायको पनि ख्रीष्टमस पर्वमा सहभागीता पनि बढ्दै गएको छ । यसले आपसी भाइचारा, मेलमिलाप, सद्भाव शान्ति, एकताको सन्देश पनि दिएको छ । वर्ग, जात, धर्म, लिंग, भाषा, कला, संस्कृति, विचारले यहाँ कुनै पनि किसिमको भेदभाव, छुवाछुत छैन । सबै समान भएकाले पनि यहाँ एउटा बलियो एकता देखिन्छ ।
बाँके, बर्दिया सहित नेपालभर ३० लाख बढी इसाई समुदाय रहेको अनुमान छ । अहिले नेपाल धर्मनिरपेक्ष राज्यका रुपमा विश्वमा चिनीएको छ । एकले अर्कोको आस्थाको केन्द्रमाथी असर नपर्ने गरी त्यसको संरक्षण, प्रवद्र्धन र अवलम्बन गर्न छुट दिएकोले पनि होला, सायद नेपाल राष्ट्र बहुभाषा, बहुधर्म, बहुसंस्कृतिले भरीपुर्ण देश बन्न पुगेको छ । नेपालको १० बर्षे सशस्त्र द्धन्द्ध पछिको शान्ति प्रक्रियालाई लिएर विश्व समुदायले अहिले प्रशांसा गरी रहेको छ । विश्वको धार्मिक इतिहासलाई हेर्ने हो भने सबैभन्दा धेरै ७१ वटा इसाइ राष्ट्र, ५४ वटा इस्लामीक राष्ट्र, १ हिन्दु राष्ट्र, ९ वटा बुद्धिष्ट राष्ट्र र १ यहुदी राष्ट्र रहेको विभिन्न तथ्याकंहरुले देखाउँछन । पवित्र बाइबलको लुका १९ को ४६ पदले यसो भनेको छ, “धर्मशास्त्रमा लेखिएको छ, मेरो घर प्रार्थनाको घर हुनेछ, तर तिमीहरुले त यसलाई डाँकुहरुको अड्डा बनाएको छौं ।” यो जिबित प्रभुको बचन हो, हाम्रो गाउँ–समाजमा भएका मण्डली (चर्च), मन्दिर, मस्जिद, गुम्बाहरुलाई पनि प्रार्थानाको घर बनाऔं । यसले पक्कै पनि हाम्रो घर, परिवार, समाज र हाम्रो देशमा दिगो शान्ति कायम स्थापित गर्ने छ । साथै एकले अर्काको आस्था, विचार, भावानाको कदर गर्न पनि अति आवाश्यक छ । तर चार्डपर्वका नाममा गरिने विकृती पुर्ण कार्य भने पक्कै पनि सही होइन्न । ख्रीष्टमस पर्वलाई उपहारको पर्व भनेर पनि चिनीन्छ । परमेश्वरले येशु प्रभुलाई संसारको निम्ति उपहारको रुपमा दिएकोले पनि यो पर्व उपहारको पर्व हो । तपाई, हाम्रो यसपालीको ख्रीष्टमस पर्व धेरै आषिसमय बनोस हार्दिक शुभकामना छ ।
(लेखक प्रेम विश्वकर्मा पेशाले पत्रकार हुन)
१० पुष २०७५, मंगलवार १४:२३ प्रकाशित