स्थानीय नागरिकहरु नयाँ बनेको कानुनका बारेमा अनभिज्ञ रहेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । फातिमा फाउण्डेशन नेपाल नेपालगन्जको आयोजना तथा संकल्प काठमाण्डौंको सहकार्यमा बर्दियाको गुलरियामा सम्पन्न उक्त कार्यक्रममा यौनजन्य, लैगिक तथा महिला हिंसा र नयाँ बनेको कानुनका बारेमा प्रदेश स्तरीय छलफल गरिएको थियो ।
सो छलफल कार्यक्रममा अधिवक्ता विश्वजित तिवारीले लैगिंक हिंसा सम्बन्धि बनेको कानुन तथा नागरिकले नागरिकता प्राप्त गर्ने प्रक्रियाका बारे प्रष्ट पारेका थिए । उनले भर्खरै आएको मुलुकी देवानी संहिता बारे पनि स्पष्ट पारेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि फातिमा फाउण्डेशन बर्दियाका सल्लाहकार अतित अहमद इराकीले २० बर्ष भन्दा सानै उमेरमा विवाह गर्ने चलनले गर्दा महिलाहरु हिंसामा परेको बताए । उनले २० बर्ष पुगे पछि मात्र बिबाह गर्न समेत अनुरोध गरे ।
त्यसै गरि फातिमा फाउण्डेशन नेपालका उपाध्यक्ष तथा सकल्प काठमाण्डौका केन्द्रिय सदस्य मैमुना सिद्धिकीले अझै पनि मधेशी तथा मुस्लीम समुदायका महिलाहरु हिंसा खेपेर बसिरहेकोले उनीहरुलाई सचेत गराई लैगिक समानताको मुलधारमा ल्याउनुुपर्ने बताइन् ।
सो कार्यक्रममा संकल्पका सदस्य बिन्द्रा खरेल, फातिमा फाउण्डेशन नेपाल बर्दिया शाखाका अध्यक्ष रेखा राईले आआफनो विचार राखेका थिए । छलफलमा मधेसी, मुस्लीम, दलित समुदायका ५० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रम संकल्प ५ नं. प्रदेशका अध्यक्ष आमना आतुन हलवाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
९ पुष २०७५, सोमबार १९:२५ प्रकाशित