इलाका प्रहरी कार्यालय कोहलपुरले राति १० बजे पछि हिड्ने युवाहरुलाई समाउने निति अपनाएको छ । पछिल्लो समय कोहलपुरमा चोरीका घटनाहरु बढेसंगै चुल्ठे, मुन्द्रेहरुलाई समाउने योजना बनाएको प्रहरी निरिक्षक मान बहादुर बि.सी. ले जानकारी दिए । राति १० बजे पछि हिड्नेलाई समाई एक रात इलाकामा राख्ने र पछि अभिभावकको जिम्मा लगाउने अभियान सुरु गरिएको बिसीले जनाए । यसरी समातिएका ब्यक्तिहरुको फोटो खिच्ने र फोटो खिचिएका ब्यक्तिहरु पुन: पक्राउ परेको खण्डमा कारबाहि अगाडी बढाउने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले अभियान चाले संगै प्रत्येक राती ५-६ जना ब्यक्तिहरु समातिएको प्रहरीले जनाएको छ ।
दिनप्रतिदिन चोरीका घटना बढ्दै गएपछि चोरी नियन्त्रणकालागि प्रहरीले बिना काम रातीमा हिड्नेलाई नियन्त्रण गर्न तीन वटा टोली परिचालन गरेको छ । नियमित गस्ती टोलीसँगै दुई वटा ‘क्यूआरटी’ टोली समेत परिचालन गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।
चोरीको बाईकमै चोर समाउदै प्रहरी
इलाका प्रहरी कार्यालय कोहलपुरले प्रयोग गर्ने QRT लेखेको बुलेट बाईक नै चोरीको भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश बहादुर सिंह बताउँछन । आपतकालिन समयकालागि भन्दै उक्त बाईक प्रयोगमा ल्याईएको हो । प्रहरीले प्रयोग गर्ने कालो रंगको उक्त मोटर साइकल यातायात ब्यबस्था कार्यालयले दिने नम्बर प्लेट पनि छैन, किनकी यो चोरीको मोटर साईकल हो । जसका कारण यो मोटर साईकलमा QRT लेखिएको छ ।
कानुनत यातायात ब्यबस्था कार्यालयमा दर्ता नगरी कुनै पनि सवारी साधन चलाउन पाईदैन । तर इलाका प्रहरी कार्यालय कोहलपुरले कानुनको अवज्ञा गर्दै चोरीको मोटर साईकल चलाईरहेको छ । अहिले प्रहरीले चोर समाउने अभियानमा उक्त बाईक प्रयोग गर्दै आइरहेको छ ।
लागु औषध नियन्त्रण गर्न प्रहरीनै असफल
जिल्ला कै दोस्रो ठूलो शहर कोहलपुरमा लागुपदार्थ प्रयोगकर्ताको संख्या समेत बढ्दै गएको छ । अधिकांश चोरीमा लागुऔषध प्रयोगकर्ता नै संलग्न हुने गरेको प्रहरीले जनाएको छ । कोहलपुरमा लागु औषधकर्ताहरुको संख्यामा बृद्धि भयो भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरले बिभिन्न समयमा लागु औषध नियन्त्रणकालागि सडक नाटक गर्दै आएको छ । यद्यपी सडक नाटक प्रर्दशनले लागुपदार्थ दुब्यसनीमा फसेकाहरुलाई कुनै प्रभाब परेको देखिदैन । लागु औषध नियन्त्रणका लगि बिभिन्न खालका सचेतानामुलक क्रियाकलापहरु गर्दा पनि कुनै प्रभाब नपरे पछि इलाका प्रहरी कार्यालय कोहलपुरले यस्तो अभियान संचालन गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरले केहि स-साना प्रयोगकर्ताहरुलाई पक्राउ गरेता पनि अबैध रुपमा लागु औषधको कारोबार गर्ने ब्यक्तीहरुलाई भने नियन्त्रणमा लिन अझै सफल भएको छैन ।
९ पुष २०७५, सोमबार ०८:१६ प्रकाशित