विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुको आत्मकथालाई प्राथामितकाका साथ स्थान दिदै आएको क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस तेस्रो साता बजारमा ल्याउने भएको छ । सोही क्रममा पुस ४ गते बुधबार पुस्तकको कभर सार्वजनिक गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीको संस्मरणात्मक यो पुस्तक क्रियटिभ बुक्सको पाँचौं प्रकाशन हो ।
नेपालले सन् १९९६ देखि औपचारिक रुपमा आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेको हो । पहिलो राष्ट्रिय टिमका उपकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा कप्तानी सम्हालेका थिए ।
क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले ‘एलबी क्षेत्री : कप्तान १९९८’ मा नेपाली क्रिकेटको इतिहास, समकालीन क्रिकेटरको संघर्षको कथा समेटिएको बताए । क्षेत्रीले आफ्नो आत्मसंस्मरण पत्रकार कुमार श्रेष्ठसँगको सहलेखनमा तयार पारेका हुन ।
क्षेत्रीले नेपालमा महिला क्रिकेटको अवधारणासहित सुरुवात, विकास र बिस्तारको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको पहल भएको थियो । एकातर्फ नेपाली क्रिकेट प्रगतिपथमा अघि बढ्दै पुरुष क्रिकेट टिमले एक दिवसीय मान्यता प्राप्त गरिसकेको छ । अर्कोतर्फ नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा छ । यस्तोबेला नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एवं क्यानका पुर्व सदस्य एलबी क्षेत्रीको आत्मसंस्मरण आउन लागेको हो ।
‘यसले नेपाली क्रिकेट बुझ्न चाहने आम क्रिकेटप्रेमी, खेलाडी र दर्शकलाई नजिकबाट सिक्न जान्न र बुझ्न सघाउने अपेक्षा लिएका छौं’ अध्यक्ष ठकुरीले भने, ‘यस पुस्तकमा एलबी क्षेत्रीले क्रिकेट करिअर सुरुवाती गर्दादेखि राष्ट्रिय टिमको कप्तान हुँदासम्मको संघर्ष र सफलताको कथा छ ।’
कप्तान क्षेत्रीले भारतको कोलकातामा क्रिकेट सिकेका हुन् । कोलकातामा ए डिभिजन क्रिकेट खेलेर नेपाल फर्किएका क्षेत्रीले यहाँ जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगिता खेले । अर्कोतर्फ सक्रिय खेलाडी जीवनपश्चात क्यानको केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा आएपछि उनको अगुवाइमा सुरु भएको महिला क्रिकेटको कथा पनि समावेश गरिएको छ ।
नेपाली क्रिकेटभित्र देखिएको चरम विवाद, राजनैतिक हस्तक्षेप, आइसीसीको निलम्बन र अब समाधानको उपायका सम्बन्धमा पनि उनको पुस्तकमा पढ्न पाइन्छ । उनी लामो समयदेखि क्रिकेटको आधिकारिक जिम्मेवारीबाट बाहिर छन् । यद्यपी, उनी यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट परिषद९आइसीसी०ले नेपाली क्रिकेटको विवाद समाधानका लागि बनाएको स्वतन्त्र समुहमा नेपाल सरकारको तर्फदेखि सदस्यका हैसियतमा क्रियाशील छन् ।
कोहलपुर नगरपालिका १० शान्तिटोलका स्थायी निवासी क्षेत्री श्रीमति, एक छोरा र छोरीका साथ बिभिन्न सामाजिक कार्यमा पनि संलग्न छन् । प्राध्यापन पेशामा रहेका क्षेत्रीको यो पुस्तक नेपाली खेलकुदका लागि कोसेढुङ्गा सावित हुने अपेक्षा गर्न सकिन्छ । क्रियटिभ बुक्सले यसअघि कीर्तिमानी भारोत्तोनल खेलाडी सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’बाट प्रकाशन यात्रा थालेको हो । पछिलले समय खेलकुद सम्बन्धी पुस्तकमा बढ्ता जोड दिइएको क्रियटिभ बुक्सका अध्यक्ष ठकुरीले जानकारी दिए ।
४ पुष २०७५, बुधबार १९:०२ प्रकाशित