७ बैशाख २०८१, शुक्रबार
यी हुन् काठमाडौंका पाकेटमार, ५० प्रहरी खटाउँदा ७७ पक्राउ !
  • काँचुली खबर

कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि पैसा बोकेर २५ मंसिरमा काठमाडौं आए । नयाँ बसपार्कमा ओर्लिएपछि अन्तरराष्ट्रिय बालमैत्री अस्पतालसम्म जान कान्तिपुर यातायातमा चढे । ‘गाडी एकदम भिड थियो’, उनले स्मरण गरे, ‘हतार थियो, जसोतसो बसमा चढेँ ।’ गाडीभित्र एक छेऊमा गएर उनी उभिए ।

केहीबेरमै ७र८ जना युवकहरुको समूहले उनलाई घेरे । एउटा सिट खाली गरिदिँदै त्यहाँ बस्न भने । ‘होला त नि भनेँ १ सिटमा बसेँ’, सिंह सम्झन्छन्, ‘एउटा केटाले झोला पनि समातिदियो ।’

त्यसरी दया देखाउने युवकहरुले नै नातिको उपचारका लागि ल्याएको पैसा लुट्लान् भनेर उनले सोचेका पनि थिएनन् । तर, भइदियो त्यस्तै । जब नारायण गोपाल चोकमा उनी पुगे तब थाहा भयो, उनको गोजीमा भएको पैसा गायब भइसकेको थियो । ती युवकहरु गाडीमा थिएनन् ।

‘काठमाडौंमा यस्तो हुन्छ भन्ने थाहा पनि थिएन’, सिंह भन्छन्, ‘साहारा दिने बहानामा यहाँ लुटिँदोरहेछ ।’ ती युवकहरुले उनको साथमा भएको ७५ हजार रुपैयाँ नगदसहित एटीएम कार्ड पनि लगे । ‘पिन बिर्सिन्छु भनेर कागजमा लेखेर राखिदिएका थिए’, उनले थपे, ‘तर, त्यो पनि उनीहरुले लगेछन् ।’

बसबाट ओर्लिनेवित्तिकै उनले प्रहरीमा खबर त गरे तर, त्यतिबेलासम्म पकेटमारहरुले उनको एटीएममा भएको ३५ हजार रुपैयाँ पनि झिकिसकेका रहेछन् । ‘गाउँले मान्छे हुँ, कहाँ जाने, के गर्ने, रकम लुटिएपछि केही टुंगो लागेन’, उनले भने, ‘बच्चाको पनि पूरा उपचार गराउन पाइएन ।’

एटीएमको फुटेजबाट पाकेटमार भेटिए

काठमाडौं प्रहरी परिसरले चलाएको पाकेटमार विशेष अपरेशनका क्रममा सुरेन्द्रबहादुरलाई लुट्ने पाकेटमारहरु समातिएका छन् । उनीहरुले पैसा निकालेको एटीएमकै फुटेजमार्फत प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरी रकम फिर्ता गराउन सफल भयो ।

परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामा भन्छन्, ‘उहाँको घटनामा संलग्नसहित १५ मंसिरदेखि यता भएका लुटपाटमा संलगन ७७ जनालाई पक्राउ गरेका छौं ।’

लामाका अनुसार प्रहरीले सार्वजनिक यातायातमा हुने लुटपाट र पकेटमारीका घटनालाई नियन्त्रण गर्न ५० जना सादा पोशाकका प्रहरी नै खटाएको थियो । त्यसक्रममा नगद, मोबाइल, गरगहना लगायत चोरी गर्दा गर्दै उनीहरुलाई रंगे हात पक्राउ गरिएको हो ।

पाकेटमारको अनेक कोड भाषा

परिसरका अधिकारीहरुका अनुसार पाकेटमारीमा संलग्नहरुले विभिन्न सांकेतिक भाषाको प्रयोग गर्ने गरेको खुलेको छ ।

परिसर प्रमुख लामा भन्छन्, ‘सर्वाजनिक बसहरुमा २र२ जनाको दरले ६ जनासम्मको समूह बनाएर बसभित्र छिर्ने गरेको देखिन्छ । त्यसपछि पैसा भएको यात्रु पत्ता लगाएर अगाडि पछाडिबाट घेराबन्दी गरेर ठेलम ठेलको अवस्था बनाउने गरिन्छ ।’

त्यही मौकामा यात्रुको नगद र सरसामान चोरी हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषाको प्रयोग गर्ने गरेका छन् ।

उनीहरुले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, पीडितलाई ‘रामे’, पकेटमारी गर्नेलाई ‘मास्टर अथवा कासी’, पैसा धेरै भएको अवस्थालाई ‘टानको द’, पैसा थोरै हुँदा ‘जुटेको द’ भनेर सम्बोधन गर्ने गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै, गाडीलाई ‘काँचा’, केटालाई ‘छापा’, केटीलाई ‘भद्री’, प्रहरी आयोलाई ‘ठूल्दाइ आयो’, ड्राइभरलाई ‘माम’, खलासीलाई ‘मले’, गाडीबाट झरेर भागभन्दा ‘टप्की’, गाडीभित्र अगाडि सरभन्दा ‘अकल जा’ र गाडीभित्र पछाडि सर्न लगाउँदा ‘चिछल जा’ भन्ने गरेको प्रहरीले जानकारी दियो ।

३९ मोबाइल र १ लाख ६० हजार बरामद

एसएसपी लामाका अनुसार प्रहरीले विभिन्न क्षेत्रमा चलाएको अपरेशका क्रममा १ लाख ६० हजार ७ सय रुपैयाँ बरामद भएको छ । त्यस्तै, ३९ वटा मोबाइल, ४ वटा आइप्याड र ५ वटा ल्यापटप बरामद भएको छ ।

त्यस्तै, पाकेटमारी गर्दागर्दै समातिएका व्यक्तिहरुको साथबाट बरामद ५ लाख ९६ हजार रुपैयाँ तत्काल सम्बन्धित पीडितलाई दिइएको लामाले बताए ।

महानगरीय प्रहरी वृत्त, लैनचौरका डीएसपी गौतम केसीले बरामद गरिएको सामानहरुको धनी खोज्ने काम भइरहेको बताए । ‘कतिपय सामान धनीको पहिचान भइसकेको छ र बुझाएका छौं’, उनले भने, ‘तर, कतिपय सामान भने बेबारिसेझैँ छन् । पीडितहरु खोजी रहेका छौं ।’

परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरुमाथि चोरी मुद्दा अन्तरगत कारबाही हुनेछ । कानुनतः पहिलो पटक पाकेटमारी गरे १ महिना जेल तथा बिगो बराबरको जरिवाना सजायँ हुनेछ भने दोस्रो पटक दुई महिनाको कैद तथा बिगो बमोजिमको जरिवाना हुनेछ ।

बुधबार प्रहरीले पत्रकार सम्मेलन गरेर पाकेटमारहरुलाई सार्वजनिक गरेको थियो । त्यसवेला परिसर वरिपरि पाकेटमारहरुको भीड देखिएको थियो ।

  • ४ पुष २०७५, बुधबार १८:४७ प्रकाशित
  • Nabintech