कर्मचारी समायोजन अध्यादेश २०७५ मार्फत पेशागत स्थायीत्व र कर्मचारी समायोजनका लागि सबै सेवा बिच समान व्यवहार नभएको भन्दै नेपालगन्ज उपमहानगरपालिकामा धर्ना दिइएको छ । स्थानिय तह ट्रेड यूनियन संयूक्त आन्दोलन परिचालन समिति नेपालगन्जको आव्हानमा उक्त धर्ना दिईएको हो । बिभिन्न माग राख्दै गरिएको आन्दोलनमा कर्मचारीहरुको सहभगीता रहेको थियो । उनीहरुले साबिक स्थानिय निकायका कर्मचारीको स्थायीत्व र सेवा निरन्तरताको व्यवस्था अध्यादेशमा गरिनु पर्ने, श्रेणी बिहिन कर्मचारीको स्तर बृद्धि, तह बढुवा लगायत बृद्धि बिकास तत्काल लागु गरिनु पर्ने, कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ४ बमोजिम स्थानिय सेवामा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गरिनु पर्ने, अस्थायी करार, ज्यालादारी, सामाजिक परिचालक कर्मचारीको सेवा निरन्तरताको निश्चित गरिनु पर्ने माग राखेका छन् ।
काठमाण्डौँ उपत्यका लगायतका स्थानिय तहमा फोहोरमैला तथा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षाको प्रत्याभूति नगरी निजी क्षेत्रमा लैजान लागेकोले तत्काल रोकी सोही क्षेत्रमा कार्यरत कर्मचारीको रोजगारी शुनिश्चित गरिनु पर्ने माग गरेको नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक बिकास अधिकृत तथा नेपालगन्ज उपमहानगरपालिका कर्मचारी एशोसियसनका प्रबक्ता कृष्ण प्रसाद जोशीले बताए ।
२ पुष २०७५, सोमबार १५:१४ प्रकाशित