‘रेडियो मिसन’ औपचारिक रुपमा सञ्चालन
  • काँचुली खबर

बाँकेको कोहलपुरबाट रेडियो मिसन ९०.६ मेगाहर्ज सञ्चालनमा आएको छ । यही मंसिर ११ गतेबाट आफ्नो परीक्षण सुरु गरेको रेडियोको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र उपप्रमुख सञ्जु कुमारी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेसँगै शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । उद्घाटनका क्रममा नगरप्रमुख रावतले सर्वप्रथम रेडियोको प्रसारण कक्षको मुल ढोगामा लगाएको रिवन काटे भने त्यसपछि उपप्रमुख चौधरीले मिक्सरको फेडर उठाएपछि नगरप्रमुख रावतले रेडियो औपचारिक रुपमा उद्घाटन भएको घोषणा गरेका थिए । सो उद्घाटन कार्यक्रमलाई प्रविधियक्त क्यामेरा जडान रेडियोको फेसबुक मार्फत भिडियो सहित प्रत्यक्ष प्रसारण गरिएको थियो । रेडियो उद्घाटनमा आएसँगै आफ्ना नियमित कार्यक्रमहरु शुक्रबारदेखि नै सञ्चालनमा आएका छन् भने समाचार बुलेटिनहरु भने आगामी पौष १ सुरु गरिने भएको छ ।

कोहलपुर-११ रेडक्रस मार्ग नजिकैबाट सञ्चालनमा आएको रेडियोको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले रेडियो सफलताको शुभकामना व्यक्त गर्दै रेडियो मिसन यस क्षेत्रको मात्र नभई राष्ट्रकै एउटा भरपर्दो र विश्वासिलो सञ्चार माध्यमका रुपमा स्थापित हुनुुपर्नेमा जोड दिए । साथै समृद्धिको नारा बोकेको यस रेडियोले कोहलपुर क्षेत्रको विकास र समृद्धिमा महत्वपूर्ण भुमिका खेल्नेमा आफू विश्वस्त रहेको प्रमुख रावतको भनाइ थियो । उनले भने, ‘रेडियोले जसरी आफ्नोे नारालाई अघि सारेकोे छ, त्यसरी नै विकास र समृद्धिका हरेक कार्यहरुमा सहयात्री बनोस ।’ प्रमुख रावतले हरेक देशको विकास र समृद्धिमा सञ्चार माध्यमको महत्वपूर्ण भुमिका हुने भन्दै रेडियोले हरेक भाषाभाषी, वर्ग, समुदाय, जातजाति, लिङ्ग, धर्महरुको प्रतिनिधित्व गर्ने गरी सूचना समाचार र मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गरिनु पर्नेमा जोड दिए । साथै रेडियोलाई सहर केन्द्रित मात्र नभई ग्रामिण बस्तीहरुमा पिछडिएर रहेका नागरिकहरुको आवाजहरुलाई समेत समेट्न सुझाव दिएका थिए ।

यस्तै उपप्रमुख चौधरीले रेडियो मिसन सञ्चार क्षेत्रमा एउटा अग्रणी संस्थाका रुपमा विकास हुँदै जाओस् भन्दै सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । नकारात्मक समाचार तथा कुराहरुमा बढि टिका टिप्पनी गर्नु भन्दा विकास र समृद्धिमा टेवा पुग्ने खालका सकारात्मक समाचारहरु लेखन तथा सम्प्रेषमा विशेष जोड दिनुपर्ने चौधरीले बताइन् । उनले भनिन्, ‘हामी नकारात्मक कुराहरुमा मात्र बढि टिका टिप्पनी गर्छौ, त्यस्ता कुराहरुमा समय बिताउनु भन्दा विकास र समृद्धिमा सहयोग पु¥याउने खालका समाचार संकलन तथा सम्प्रेषण गर्नुपर्छ ।’ पत्रकारहरुले यस क्षेत्रमा भएका र भइरहेका विकासका गतिविधिहरुका बारेमा कलम चलाउनु पर्नेको धारणा थियो । साथै उनले रेडियोलाई स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन् । सोही क्रममा रेडियोका स्टेशन प्रमुख बिनोद पौडेलले विकास र समृद्धि नै आफूहरुको लक्ष्य भएकोले रेडियोबाट विकासमा टेवा पुग्ने खालका सामाग्रीहरु संकलन तथा प्रसारण गर्ने बताए । साथै सञ्चारका माध्यमबाट रहेक गाउँवस्तीका आवाजहरुलाई समेट्ने प्रयास गरिने उनको भनाइ थियो । कार्यक्रमको अन्त्यमा स्टेशन प्रमुख तथा यस दैनिकका प्रकाशक पौडेलले नगरप्रमुख रावत र उपप्रमुख चौधरीलाई मायाको चिनो स्वरुप उनीहरुकै फोटो प्रिन्ट गरिएको चिया कप प्रदान गर्दै विदाई गरेका थिए । कार्यक्रममा कोलपुर क्षेत्रका पत्रकार, साहित्यकार, डाक्टर, रेडियोका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

  • २८ मंसिर २०७५, शुक्रबार २०:४३ प्रकाशित
  • Nabintech