बाँकेको कोहलपुर-११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो १० औं साधारण सभा सम्पन्न गरेको छ । सभाको बाँके क्षेत्र नं. १ (क) प्रदेश नं. ५ की प्रदेश सदस्य कृष्ण केसी नमूनाले उद्घाटन गरेकी थिईन् । कार्यक्रममा बौल्दै सदस्य केसीले सहकारी संस्थामा आवद्व कमजोर शेयर सदस्यहरुलाई आर्यआर्जनमा जोडने, क्षमता विकासमा जोड दिन सहकारी लागि पर्नुपर्ने बताईन् । साथै उनले प्रदेश नं. ५ को सरकारले सहकारीलाई पहिलो प्राथमिकता दिएकोले कृषिमा टेकेर आर्थिक समृद्वि हासिल गर्नका लागि सहिकारीलाई बलियो माध्यम बनाएर अगाडि बढ्ने अठोट लिईएको बताईन् । त्यस्तै समाजमा रहेका गरिब, पछाडि परेका वर्ग सामुदाय र महिलाहरुलाई समूहमा आवद्व गराई सामूहिक निर्णयको आधारमा समूहको माध्यमबाट शेयर सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक तथा सामुदायिक उन्नती गर्ने कार्यक्रमहरु सञ्चालन गरी शेयर सदस्यहरुको जीवन स्तरमा व्यापक सुधार गर्नका लागि सहकारीले साँझा संकल्प लिएको बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले सहकारी नीति, विधि र विधान अनुसार चल्नुपर्ने भन्दै सहकारीले राज्यको पँहुचमा नपुगेको जनतालाई आर्थिक गतिविधिका क्षेत्रमा संग्लन गराउनुपर्ने बताए ।
बहुउद्धेश्यीय सहकारी संघ बाँकेका अध्यक्ष भुपेन्द्र अधिकारीले अर्थतन्त्रलाई गतिशिल बनाउन सहकारीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले केही बैंकहरुले पुँजी होल्ड गर्नाले सम्पूर्ण अर्थतन्त्र तहसनहस हुने खतरा बढ्दै गएको जिकिर गर्दै त्यसलाई सन्तुलीत गर्दै निम्नस्तरका नागरिकहरुको जिवनस्तर उकास्न सहकारीले थप योजनाहरु लागु गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले सहकारीबाट लिएको ऋणलाई सदुपयोग गरी आत्मानिर्भर बन्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष हरि प्रसाद चालिसेले देशको आर्थिक विकासमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको बताउँदै सहकारीमा आवद्व शेयर सदस्यहरुलाई आर्थिक रुपमा सम्पन्न बनाउनका लागि सहकारीले विशेष कार्यक्रम ल्याउने लागेको बताए । संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा तीन करोड १३ लाख ५७ हजार ९५ रुपैयाँ निक्षेप संकलन गरेको संस्थाका अध्यक्ष हरि चालिसेले जानकारी दिए । चालिसेले आर्थिक वर्ष २०७४/०७५ मा कुल शेयर पूँजी २९ लाख ९३ हजार र कर्जा लागनी १ करोड १६ लाख रहेको प्रतिवेदन सार्वजनिक गरेका थिए । साधारणसभाको अवसरमा संस्थाका उत्कृष्ठ कर्मचारी र बचतकर्तालाई सम्मान समेत गरिएको थियो ।
२८ मंसिर २०७५, शुक्रबार २०:३३ प्रकाशित