ओली सरकारद्वारा कृषि विकास बैंकको ऋण मिनाहा
  • काँचुली खबर

सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताएका हुन् । कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ ।

यसका अलावा मन्त्रिपरिषदले विभिन्न १५ वटा निर्णयहरु सार्वजनिक गरेको छ । सरकारले सांसद सोमप्रसाद पाण्डे संयोजकत्वको राजनीतिक वार्ता टोलीलाई बाँकी काम गर्न १५ दिनको म्याद थपेको छ । गत मंसिर २४ गते बसेको मन्त्रिपरिषद बैठकले पाण्डे संयोजकत्वको टोलीको म्याद १५ दिन थपेको बिहीबार सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

त्यस्तै मन्त्रिपरिषदले गोरखापत्र संस्थानको सल्लाहकारमा टिकाराम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । राइलाई व्यवस्थापन, मार्केटिङ र प्रिन्टिङसम्बन्धि हेर्ने जिम्मेवारी दिएको छ । त्यसैगरी सरकारले बालाजु-त्रिसुली छहरे-विदुर सडक स्तरोन्नतीका लागि २६०० रुख हटाउन स्वीकृति दिएको छ ।

सरकारले काठमाडौं-निजगढ दू्रतमार्ग निर्माणका क्रममा क्षतिपूर्ति दिन छुट भएका १०५ जनालाई क्षतिपुर्ति दिने र भारतीय नोटहरु २ सय ५ सय र २ हजारका नोट गैरकानुनी भएकाले ति नोट चलनचल्तीमा नल्याउन र नबोक्न सुचना प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

  • २७ मंसिर २०७५, बिहीबार १८:४५ प्रकाशित
  • Nabintech