लागु औषध दुर्ब्यसनी बिरुद्व प्रभातफेरी
  • काँचुली खबर

कोहलपुरमा लागु औषध दुर्ब्यसनी बिरुद्ध सप्ताहब्यापी सचेतना अभियान संचालन गरिएको छ । कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त आयोजनामा शनिबारदेखि सप्ताहब्यापी अभियान संचालन गरिएको हो ।
अभियान अन्तर्गत शनिबार कोहलपुरमा प्रभातफेरी तथा सडक नाटक प्रर्दशन गरिएको छ । नगरभित्रका बिभिन्न वडाहरुमा हप्तादिनसम्म अभियान संचालन गरिने आयोजकले जनाएको छ ।
शनिबार कोहलपुर चौराहाबाट प्रारम्भ भएको प्रभातफेरी नगरका बिभिन्न भाग परिक्रमा गर्दै कोहलपुर चौराहमा कोण सभामा परिणत भएको थियो । प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरकार्यपालिकाका प्रमुख लुट बहादुर रावतले बालबालिकालाई अभिभावकहरुले समय दिन नसक्दा उनीहरु डिप्रेसनको सिकार हुने गरेको बताए । ‘डिप्रेसनका कारण कलिला बालवालिकाहरु लागु औषध दुर्ब्यसनीको दलदलमा भासीदै गएका छन’ रावतले जिकिर गरे ।


बालबालिकाले मागे बमोजिम नगद तथा जिन्सि दिने परीपाटीले बिकृती, बिसंगतीसँगै लागु औषध दुर्ब्यसन बढ्दै गएको भन्दै नगर प्रमुख रावतले लागु औषधको सेवनबाट थुप्रै बालबालिका बिग्रिएको र समाज नै अस्तब्यस्त भएको दाबी गरे ।
बालबालिकाको चालचलन आनिबानिलाई अभिभावकहरुले सुक्ष्म रुपमा अध्ययन गरि लागुपदार्थ दुर्ब्यसनको कुलतबाट छुटकरा दिलाउन चनाखो हुनुपर्ने भन्दै नगर प्रमुख रावतले स्वस्थ समाज निर्माणमा अभिभावकको भुमिका महत्वपुर्ण हुनुपर्ने बताए ।
उनले नजानिदो तरीकाले कुलतमा फसेका ब्यक्तिहरुलाई उनीहरुको भबिष्य र स्वास्थ्य प्रति गम्भिरता देखाउन सामुदायिक प्रहरी, समुदाय र बिद्यालय एक अर्काका परीपुरक भएकाले हातेमालो गर्दै लागु औषध दुर्ब्यसन बिरुद्वको अभियानमा सहभागी हुन आव्हान समेत गरे ।

प्रभातफेरी कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश बहादुर सिंह, इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल, सामुदायिक प्रहरी कोहलपुरका अध्यक्ष नारायण गौंडेल, उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र बहादुर अधिकारी, नेपाल प्रहरी, शशस्त्र प्रहरी, निजामती कर्मचारी, निजि तथा सामुदायिक बिद्यालय, बिभिन्न वडाका वडाध्यक्ष, कोहलपुर नगर कार्यपालिकाका सदस्यहरु र स्थानियहरुको उल्लेख्य सहभागी रहेको थियो ।

  • २२ मंसिर २०७५, शनिबार १६:०३ प्रकाशित
  • Nabintech