लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको समयमा नेपालगन्जका सूचना अभियन्ता अधिवक्ता विश्वजित तिवारीले नेपाली नागरिकतामा आफ्नो आमा तारादेवी तिवारी र श्रीमती सुधा (पाण्डे) तिवारीको नाम लेखाउन सफल भएका छन । महिला हिंसा न्यूनिकरणको सचेतना फैलाउन आफ्नोे आमार श्रीमतीको नाम लेखाएको बताउदै तिवारीले यस कार्यले महिला र पुरुषको अधिकारमा समान पहुँच हुने जिकिर गरे । तिवारीले आफनो नाागरिकतामा आफ्नो आमा र श्रीमतीको नाम लेखाउन सकिने सूचनाको हकबाट थाहा पाए पछि सो कार्य गर्न उर्जा मिलेको बताए ।
साथै यो अभियानलाई सफल पार्न सम्पूर्ण विवाहितहरुले आफ्नो नागरिकतामा आमा र श्रीमतीको नाम लेखाउन समेत तिवारीले आग्रह गरेका छन ।
नागरिकतामा आमा र श्रीमतीको नाम लेखाउन सूचना, जानकारी र कानुनी प्रक्रिया बारे सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले निशुल्क परामर्श दिने संस्थाले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजवालले नागरिकता प्रदान गर्दै आफ्नो आमा र श्रीमतीको नाम लेखाएर नेपाली नागरिकता लिएको यो नै बाँके जिल्लामा पहिलो घटना भएको बताए ।
त्यसै गरि जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले सायद नेपालमा नै श्रीमतीको नाम लेखाएर नागरिकता वितरण गरिएको यो नै पहिलो घटना भएको बताए । समाजमा समानताको आभास हुने हुदाँ यो एक अनुकरणीय कार्य भएको कानुनविदहरुले बताएका छन ।
१५ मंसिर २०७५, शनिबार १७:१९ प्रकाशित