पत्रकार अर्जुन ओलीको मोटरसाईकलमा आगजनी गर्ने समुहको चाँडो पहिचान गरी कारबाही गर्न बाँकेका पत्रकारहरुले प्रहरी समक्ष माग राखेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित आफ्नै घरमा पार्किङ गरेर राखिएको भे २ प ८९१८ नम्बरको एमाहा कम्पनीको मोटरसाईकलमा अज्ञात समुहले सोमबार मध्यराती आगजनी गरिदिएको थियो । आगजनीबाट मोटरसाईकलको करिव आधा भाग जलेको छ । आगजनीको घटना समयमै थाहा पाएका कारण घरमा ठुलो जनधनको क्षति हुन नपाएको पत्रकार वलीले जानकारी दिए ।
पत्रकारको एक टोलीले बुधबार जिल्ला प्रहरी कार्यालयमै पुगेर निमित्त प्रहरी प्रमुख (डिएसपी) राजेन्द्र अर्याललाई दवाव सहितको यस्तो माग राखेका हुन् । नागरिक दैनिकमा कार्यरत पत्रकार ओलीलाई डर, त्रास देखाउन र ज्यानै लिने उद्देश्यले योजनावद्ध तरिकाले घटना गराएकाले यसलाई गम्भिर ढंगले हेरिदिन पत्रकारको टोलीले प्रहरीलाई आग्रह गरेको छ । मध्यरातमा पत्रकारलाई लक्षित गरी च्यानल गेटभित्र ताला लगाएर पार्किङ गरिएको मोटरसाईकलमा आगजनी गर्नु नियोजित घटना भएको पत्रकारहरुको बुझाई छ । पत्रकारलाई शान्ति सुरक्षाको पूर्ण रुपले प्रत्याभुति दिलाउन प्रहरीलाई अनुरोध पनि गरिएको छ । पत्रकारका विभिन्न संगठन र सञ्चार संस्थाको प्रतिनिधित्व गर्दै पुगेको उक्त टोलीले आगजनीको घटनामा अनुसन्धानको दायरा फराकिलो पार्न र ओलीले एक डेढ महिनायता प्रकाशित गरेका समाचारलाई पनि केलाउन सुझाव दिएको छ ।
निमित्त प्रहरी प्रमुख (डिएसपी) अर्यालले घटनाको गम्भिर ढंगले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको र प्रहरी टोली परिचालित भएर अनुसन्धान गरिरहेको बताए । ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ, अझैपनि अनुसन्धानको दायरालाई फराकिलो बनाएर दोषीलाई पत्ता लगाउँछौं,’ उनले भने । यसअघि मंगलबार पनि उक्त घटनाको भत्र्सना गर्दै पत्रकार महासंघ लगायत पत्रकारका विभिन्न संघ, संगठनले दोषीलाई पहिचान गरी कारबाही गर्न माग गरेका थिए ।
१२ मंसिर २०७५, बुधबार १७:०६ प्रकाशित