ग्रामीण भेगका बालबालिकाहरु फोहर पानी भएको पोखरीमा पौडी खेल्ने र नुहाउने गरेको कारण अधिकाँश बालबालिकाहरुको कानमा स्वास्थ्य समस्या सिर्जना भएको तथ्य बाहिर आएको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खैरेनी गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आएका अधिकाशं बालबालिकाहरुको कानमा यस्तो समस्या देखिएको हो ।
नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका बालरोग विशेषज्ञ डा. अनुप सिंहका अनुसार शिविरमा आएका अधिकाँश बालबालिकाहरुमा फोहर पानीले नुहाउँदा पानी पसेर कानमा समस्या देखिएको हो । पटक पटक रुघा लागेर समयमा उपचार नपाएको कारण बालबालिकाहरुको कान पाक्ने र पटक पटक कान पाक्यो भने श्रवण शक्ति ह्रास हुँदै जाने र पठनपाठनमा समेत समस्या उत्पन्न हुँदै जाने डा। अनुप सिंहले जानकारी दिए ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँके अन्तर्गत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा आएका सर्वसाधारणलाई चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि समेत वितरण गरिएको थियो । केन्द्रकी अध्यक्ष लता शर्माले दिएको जानकारी अनुसार उक्त शिविरबाट गेरुवा गाउँपालिका अन्तर्गतका ३३६ जना महिला र १६१ जना पुरुष समेत ४९७ जना सर्वसाधारण स्वास्थ्य सेवाबाट लाभान्वित भएका थिए भने ३ महिनाको बालबालिकादेखि ८६ वर्षिय वृद्धबृद्धाले समेत स्वास्थ्य परीक्षण गराएका थिए ।
१२ मंसिर २०७५, बुधबार १४:३४ प्रकाशित