नेपालगन्जको रानी तलाउ बोटिङ बिहारको करिव डेढ दशकपछि पुनःनिर्माण गरिएको छ । २०५८ सालतिर रानी तलाउको संरक्षण, सम्वद्र्धन हुन छाडेको थियो । जीर्ण अवस्थामा रहेको रानी तलाउलाई नेपालगन्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेको हो । पुनःनिर्मित रानी तलाउ बोटिङ बिहारको प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार उद्घाटन गरेका छन् ।
रानी तलाउ बोटिङ बिहारलाई मंगलबारदेखि नै खुला गरिएको छ । तलाउमा प्लाष्टिकका चार वटा बोट (डुंगा) तयारी अवस्था राखिएको छ । तलाउलाई चारैतिरबाट पर्खालले घरिएको छ । पर्खाल र जीर्ण बनेका अन्य भौतिक संरचनामा रङरोगन गरिएको छ । डिप बोरिङमार्फत पानी भरिएको छ, भने वरिपरि पलाएका झारपात सफा गरेर चिटिक्क पारिएको छ ।
दक्षिणतर्फ तीनवटा कटेज निर्माण गरिनुका साथै पूर्व र पश्चिमतर्फ रमणिय पार्क पनि स्थापना गरिएको छ । यस्तै बालबालिकाका लागि उद्यान, बटुवा बस्नका लागि कुर्ची, खाजा, नास्ताका लागि क्यान्टिनको व्यवस्था गरिएको छ । रानी तलाउ बोटिङ बिहार सञ्चालनमा आएसँगै नेपालगन्जमा बाहिरबाट आउने पर्यटकका लागि उपयुक्त गन्तब्य बन्ने नगर प्रमुख डा। धवलसम्शेर राणाको विश्वास छ ।
उपमहानगरपालिकाले रानी तलाउ बोटिङ बिहारलाई संरक्षणमा विशेष जोड दिने उनले बताए । नगर उपप्रमुख उमा थापामगरले जनप्रतिनिधी विहिनताको अवस्थामा बन्द रहेको रानी तलाउ बोटिङ बिहारलाई पुनःनिर्माण गरिएपछि स्थानीय बासिन्दाको पनि दायित्व र जिम्मेवारी बढेको बताईन् । रानी तलाउ संरक्षणमा स्थानीय बासिन्दाको सहयोग र सद्भाव रहनुपर्ने उनको भनाई छ ।
नेपालगन्ज-८ मा अवस्थित तलाउलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न उपमहानगरपालिकाले २२ लाख ७८ हजार रूपैयाँको लागतमा पुनःनिर्माणको काम सम्पन्न गरेको थियो । पुनःनिर्माणसँगै उपमहानगरपालिकाले रानी तलाउ क्षेत्रमा प्रवेश र बोटिङका लागि शुल्क निर्धारण गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनप्रतिनिधी नहुँदा विकास निर्माणको काम पछाडी पर्ने कुरा रानी तलाउले पुष्टी गरेको बताए । ‘जनप्रतिनिधी नहुँदा ४ वर्षमा बन्द भएको रानी तलाउलाई फेरी जनप्रतिनिधी आएपछि पुनःनिर्माण गरिएको छ,’ उनले भने ‘फेरी पनि पुनःनिर्माण गर्ने कुराबाट अब चाँही मुक्त हुनुपर्छ ।’ नेपालगन्ज उपमहानगरपालिकालाई घनाबस्तीको रुपमा नभएर ब्यवस्थित शहरको रुपमा विकास गर्नुपर्ने उनको सुझाव छ ।
प्रतिनिधी सभा संसद प्राकृतिक स्रोत समितिका सभापति एवम् पुर्वउपसभामुख पुर्णाकुमारी सुवेदीले जनताले सबै जनप्रतिनिधीलाई परिक्षा लिईरहेको बताईन् । ‘हामी सबै परिक्षाको घडीमा छौं, त्यसकारण विकास निर्माणको सवालमा एकतावद्ध हुनुपर्छ,’ उनले भनिन् । प्रतिनिधी सभाका सांसद महेश्वर गहतराजले साँस्कृतिक तथा पुरातत्वका हिसाबले रानी तलाउको महत्व धेरै रहेको बताए ।
२० कार्तिक २०७५, मंगलवार १८:५१ प्रकाशित