काठमाडौं – राप्रपा धारका दलबीच चाँडै एकता गर्ने गरी छलफल अघि बढेको छ । राप्रपा, राप्रपा प्रजान्त्रिक र एकीकृत राप्रपाका अध्यक्षबीच तिहारलगत्तै पार्टी एकता गर्ने गरी छलफल भइरहेको नेताहरूको दाबी छ । सैद्धान्तिकभन्दा पदलोलुपताका कारण पटकपटक विभाजित हुँदै आएका राप्रपा धारका दल पछिल्लो समय राष्ट्रिय राजनीतिमा प्रभावशून्य बनेपछि पुनः एकतामा जुटेका हुन् । ‘पार्टी एकताका लागि अध्यक्ष तहमै छलफल भइरहेको छ’, राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले भने ।
राप्रपा प्रजातान्त्रिकको आइतबार बसेको बैठकले पार्टी एकताबारे निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष पशुपतिशमशेर राणालाई दिएको हो । राप्रपाले यसअघि नै अध्यक्ष कमल थापालाई एकताको जिम्मा दिइसकेको छ । यसअघि तीनै दलले वार्ता समिति गठन गरेर एकताको प्रयास अगाडि बढाउन खोजेका थिए । समितिहरूबीच एकताका लागि बैठक बसे पनि परिणाम निस्कन नसकेपछि नेतृत्व तहमै छलफल अघि बढेको हो ।
बलियो राष्ट्रवादी लोकतान्त्रिक शक्ति निर्माणका लागि पनि राप्रपाबीच एकता अनिवार्य रहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । ‘चाँडै एकता हुन्छ, तर समय यकिन भइसकेको छैन’, उनले भने, ‘एकता प्रक्रिया कहाँ पुग्यो भन्ने यकिन जानकारी हामीलाई पनि छैन । एकता प्रक्रिया लम्बिँदैन ।’ पार्टीको नेतृत्व र सिद्धान्तका विषयमा पनि विवाद नरहेको उनीहरूको दाबी छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि तीनवटै राप्रपाबीच एकताका लागि निरन्तर दबाब दिँदै आएका थिए । उनले चैत पहिलो साता झापामा तीनै दलका दोस्रो तहका नेतालाई बोलाएर एकता गर्न सुझाएका थिए ।
पूर्वयुवराज पारस शाहले पनि केही साताअघि राप्रपा धारका युवा नेतासँग पार्टी एकताबारे छलफल गरेका थिए । बहुदल पुनःस्थापनालगत्तै पञ्चायत समर्थकले खोलेको राप्रपा स्थापना भएकै दिन विभाजन भएको थियो । त्यसपछि राप्रपामा विभाजन र एकताको शृंखला जारी छ ।
२० कार्तिक २०७५, मंगलवार ०८:१४ प्रकाशित