आकर्षणको केन्द्र बन्दै ‘कोहलपुर भ्यू टावर’
  • काँचुली खबर

कोहलपुर नगरपालिका वडा नं. १२ मा रहेको भ्यू टावरबाट तीन वर्षमा २३ लाख रूपैयाँ आम्दानी भएको छ । टावरमा आउने आन्तरिक तथा बाह्रय पर्यटकहरूको सहयोगले भ्यु टावर सञ्चालक गरिरहेको सिर्जना सामुदायिक वन उपभोक्ता समितिले तीन वर्षको अवधिमा उक्त रकम रकम आम्दानी गरेको समितिका अध्यक्ष दशरथ पराजुलीले जानकारी दिए ।
उनका अनुसार टावर निर्माणपछि पहिलो वर्ष ६ लाख, दोस्रो वर्ष ७ लाख र अहिले तेस्रो वर्षमा नौ लाख गरी तीन वर्षको अवधीमा २३ लाख रूपैयाँ आम्दानी भएको हो । सामुदायिक वन समितिको १८ लाख लगानीमा निर्माण गरिएको उक्त भ्यु टावरमा आन्तरिक सहितका बाह्रय पर्यटकहरू समेत आउने गरेका छन् ।
पहिलो वर्ष एक सय, दोस्रो वर्ष डेढ सय र अहिले तेस्रो वर्षको कात्तिकसम्म दुई सय ५० जना आन्तरिक तथा बाह्रय पर्यटकहरूले भ्यू टावरको अवलोकन गरिसकेको र दैनिक रूपमा ठुलो सँख्यामा भ्यु टावर अवलोकनका लागि आउने गरेको अध्यक्ष पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार विहान ८ बजेदेखि दिउँसो पाँच बजेसम्मको समयमा पर्यटकहरू अवलोनका लागि आउने गरेका छन् ।
सामुदायिक वन समितिले भ्यू टावर र यस क्षेत्रको विकासका लागि १५ बर्षे गुरूयोजना निर्माण गरेको उनले बताए । उनका अनुसार उक्त गुरूयोजनामा विभिन्न सुगन्धित फूलको फूलबारी बनाउने, मिनी चिडियाखाना बनाउने, जंगल सफारी गराउने र पोखरी बनाई बोरिङसमेत सञ्चालन गर्ने, स्वीमिङ पुल निर्माण गर्ने लगातका योजना समेटिएका छन् । सामुदायिक वनको १३ बिघा क्षेत्रफलभित्र निर्माण गरिने यी योजनाले यस क्षेत्रको पर्यटन विकासमा पनि सहयोग गर्ने उनको विश्ववास छ ।
आन्तरिक पर्यटकको लोभलाग्दो उपस्थितिले सामुदायिक वनको आय आर्जन गर्ने राम्रो माध्यम बनेको छ । यस क्षेत्रमा स्वीमिङ पुल सञ्चालनकालागि पोखरी निर्माण शुरू गरिएपनि आर्थिक अभावमा कारण अहिले उक्त पुल निर्माणको काम अलपत्र परेको अध्यक्ष पराजुलीले बताए ।

कोहलपुर नगरपालिकाले गत बर्ष दिएको २० लाख रूपैयाँले स्वीमिङपुलको पर्खाल र पोखरीको पिसिसि आरसिसि गरिएको छ । उनले भने ‘आर्थिक अभावकै कारण यो भन्दा बढी काम गर्न सकिएको छैन् । गएको असारदेखि स्वीमिङ पुल निर्माणको काम अलपत्र परेको छ ।’
यहि पुल निर्माणकालागि नगरपालिकाले स्टमेट मागेको र वन समितिले १ करोड ८ लाख रुपैयाँको स्टमेट दिईसकेको उनले बताए । आफूहरूले लागत स्टमेट दिईसकेपनि नगरपालिकाले अहिले बजेट विनियोजन नगर्दा काम सञ्चालन गर्न समस्या भईरहेको उनले बताए । उनले भने ‘नगरले लागत स्टमेट अनुसारको रकम दिए लगत्तै स्वीमिङ पुल निर्माणको काम तीब्र गतिमा अघि बढाउँने तयारी गरेका छौं ।’अहिले जिल्लाका विभिन्न भूभाग अवलोकनका लागि भ्यु टावरमा दैनिक चहलपहल बढेको छ । ७७ फिट अग्लो भ्यु टावर भएकोले यहाँबाट बाँके, बर्दियाका विभिन्न भाग सहजै अवलोन गर्न सकिने उनले बताए ।
शनिबार परिवारसहित अभिभावक भ्यु टावर अवलोकन गर्न आउनेको संख्या बढी हुने गरेको छ । उनले भने ‘गएको दसैंमा ५ सयले अवलोकन गरेका थिए भने नयाँ वर्षमा १ हजार ७ सयभन्दा बढीले भ्यु टावर चढेका थिए ।’

  • १६ कार्तिक २०७५, शुक्रबार १३:५८ प्रकाशित
  • Nabintech