काठमाडौं — पश्चिमी सञ्चारमाध्यमले कथित ‘चिनियाँ ऋण जालो’ ले जन्माएको चिन्ताका कारण पाकिस्तानको नयाँ सरकारले केही चिनियाँ परियोजना रोकेकाले चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) समस्यामा परेको दाबी गरिरहेका छन् । तर प्रधानमन्त्री इमरान खानले गर्न लागेको चीन भ्रमणले यस्ता दाबीलाई झूटो साबित गरेका छन् ।
पाकिस्तान र चीनबीच दशकौंदेखिको राम्रो सम्बन्ध छ र पेटी सडक परियोजना (बीआरआई) ल्याइएदेखि सम्बन्ध झनै बलियो भएको छ । बीआरआईको प्रमुख परियोजनाका रूपमा रहेको सीपीईसीमा पाकिस्तान समेत संलग्न छ ।
सन् २०१३ मा पाकिस्तानले आर्थिक तथा ऊर्जा संकट बेहोरेको थियो । पाकिस्तानलाई यो परिस्थितिबाट उकास्नका लागि सहयोग गर्ने एकमात्र देश चीन थियो । चीनले ऊर्जा र विकास निर्माणका धेरै परियोजना शुरू गरेको छ र पाकिस्तानमा लगानी भित्र्याएको छ । लगानीका लागि पाकिस्तान सुरक्षित छ भन्ने सन्देश यसबाट संसारले पाएको छ । यसले पाकिस्तानको छवि सुधार्न र आर्थिक तथा ऊर्जा संकटलाई नियन्त्रण गर्न सहयोग पुगेको छ ।
सन् २०१८ मा नयाँ सरकार सत्तामा आएपछि चीनले पाकिस्तानलाई दुई अर्ब अमेरिकी डलर ऋण दियो । प्रधानमन्त्री इमरान खानले पहिलो औपचारिक भाषणमा चीनको सहयोगको प्रशंसा गरे । ‘चीनले पाकिस्तानमा शुरू गरेको सीपीईसी परियोजनाले हामीलाई पाकिस्तानमा लगानीको अवसर दिनेछ,’ खानले भने ।
तर यी दुई देशले द्विपक्षीय सम्बन्धलाई थप बढाउनका लागि आत्मविश्वास पाएको भएपनि पाकिस्तानको नयाँ सरकारले सीपीईसीका बारेमा चिन्ता लिनुपर्छ त ? लिनुपर्दैन ।
पाकिस्तानमा अहिले चलिरहेको ऋण संकटका लागि चीन नै जिम्मेवार छ भनी धेरैले औंला तेर्स्याउँछन् । तर यो सत्य हैन । चिनियाँ दूतावासले धेरैपटक पाकिस्तानमा अहिले चलिरहेको आर्थिक संकटको सीपीईसीसँग कुनै साइनो नभएको दोहोर्याइसकेको छ ।
पाकिस्तानस्थित चिनियाँ दूतावासका डेपुटी चीफ अफ मिसन झाओ लिजियानले पाकिस्तानमा वाणिज्य लगानी र सफ्ट लोनका रूपमा १९ अर्ब अमेरिकी डलर लगानी भएको ट्वीट गरे ।
‘ती १९ अर्ब डलरमध्ये ६ अर्ब डलर २ प्रतिशत मार्कअपमा सरकारले सरकारलाई दिने नरम किसिमको ऋण हो । बाँकी भनेको चिनियाँ प्रत्यक्ष विदेशी लगानी हो र यसमा एकपटकको ७ प्रतिशत बीमा लागत हो । बीस वर्षको चुक्ता अवधिमा यो ऋणको कुल लागत औसतमा ६।३ प्रतिशत मात्र हुन्छ र त्यसमा अनेकौं वर्षको ग्रेस अवधि पनि हुन्छ । सबै ऋण र लगानीको चुक्ता सन् २०२२ बाट शुरू हुनेछ,’ उनले ट्विटरमा लेखे ।
चिनियाँ तथा पाकिस्तानी सञ्चारमाध्यमसँग कुरा गर्दै चीनका लागि पाकिस्तानी राजदूत मसूद खालिदले प्रधानमन्त्री इमरान खान नोभेम्बर २ देखि ५ सम्म चीनको औपचारिक भ्रमण गर्ने र अगस्ट महिनामा प्रधानमन्त्री भएदेखिको यो उनको पहिलो औपचारिक भ्रमण भएको बताए ।
चीनका राष्ट्रपति शी चिनफिङ र प्रधानमन्त्री ली खस्याङसँग खानको निर्धारित भेटघाटले दुई देशबीचको सम्बन्ध गहिरिने बताए ।
खानले चीनसँग कारोबार र व्यापार सम्बन्ध बलियो बनाउने आशा गरेका छन् अनि दुई देशले कृषि, शिक्षा र प्रविधिका क्षेत्रमा सहकार्य गर्नका लागि विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ ।
नोभेम्बर ४ मा बेइजिङ भ्रमण गरेपछि प्रधानमन्त्री खानले शांघाईमा उच्चस्तरीय पाकिस्तानी व्यापार प्रतिनिधिका साथ पहिलो चीन अन्तर्राष्ट्रिय निर्यात प्रदर्शनीमा भाग लिनेछन् । त्यहाँ पाकिस्तानले निर्यातयोग्य अनेकौं उत्पादनको
प्रदर्शनी गर्नेछ ।
चिनियाँ पक्षले उनलाई ऊर्दू भाषामा स्वागत गर्नेछ अनि चिनियाँ राष्ट्रपति शीले खानसँगै एउटा पाकिस्तानी स्टलको भ्रमण गर्ने अपेक्षा छ ।
देशको चुक्ता (पेमेन्ट) संकटलाई नियन्त्रण गर्नका लागि पाकिस्तानलाई तत्कालै १० अर्ब अमेरिकी डलरको बेलआउट प्याकेज आवश्यक छ । पाकिस्तान अन्तर्राष्ट्रिय मुद्राकोषको बेलआउट प्याकेज लिन चाहँदैन अनि चीनसँगको सम्बन्धलाई मजबूत बनाउन चाहन्छ र सीपीईसी परियोजनालाई पनि तीव्र बनाउन चाहन्छ । साउदी अरबबाट हालै पाएको भन्दा उच्च बेलआउट प्याकेज चीनबाट पाउने अपेक्षा पाकिस्तानले लिएको छ । चीनले यससम्बन्धमा पाकिस्तानलाई सकारात्मक संकेत दिइसकेको छ ।
‘हामीहरू पाकिस्तानसँग मिलेर प्रधानमन्त्री इमरान खानको भ्रमण पूर्णतः सफल बनाउन तथा चीन र पाकिस्तानको सम्बन्धलाई अगाडि बढाउन चाहन्छौं,’ चीनका परराष्ट्रमन्त्रीले केही समयअगावै भनेका थिए ।
सीजीटीएनमा प्रकाशित जफर हुसेनको विश्लेषण
१६ कार्तिक २०७५, शुक्रबार ११:१५ प्रकाशित