बाँकेको राप्ती सोनारी गाउँपालिका-९ मा शनिबार बिहान भएको सडक दुर्घटनामा ६ जना ज्यान गएको छ । दाङबाट बाँकेको नेपालगन्जकालागि छुटेको रा १ ख १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्कीएको थियो । बिहान करिब ८ः३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका-९ मुगुवा खोला नजिकै हायस र ट्रक एकआपसमा ठोक्कीएको कोहलपुर प्रहरीले जनाएको छ ।
सडक किनारमा दुर्घटनाग्रस्त अवस्थामा पल्टिएको ट्रकलाई उछिन्ने क्रममा अर्को दिशाबाट आएको ट्रकले हायसलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकोे छ ।
दुर्घटनामा हायसमा सवार करिब २५ जना यात्रुहरुमध्ये ४ जनाको घटनास्थलमै ज्यान गएको थियो भने २ जनाको उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परि दाङ तुल्सीपुर निवासी ३२ वर्षका तुल्सी रावत र सोही ठाँउ निवासी २६ वर्षकी बसन्ती चौधरीको सनाखत भएको छ भने अन्य ४ जनाको शनाखत हुन नसकेको बताईएको छ ।
दुर्घटनामा घाईते भएका १७ जनाको कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भईरहेको छ । हायसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबिच घटनाको जानकारी लिन बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल अस्पताल पुगेका छन । घटना लगत्तै सहायक प्रमुख जिल्ला अधिकारी, शसस्त्रका एसपी भेषबहादुर शाहा लगायत शुरक्षा निकायका प्रमुखहरुसहित अस्पताल पुगेका भुजेलले घाईतेहरुको उपचारमा कुनै कमी नराख्न निर्देशन समेत दिएका छन ।
२० आश्विन २०७५, शनिबार ११:५८ प्रकाशित