जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नजिकिँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ ।
नागरिकको सुरक्षाका लागि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकरी दिए । बाँके जिल्लाबाट र जिल्लामा प्रवेश गरेर बाहिरीने सवारीमा सवार नागरिक (यात्रु) लाई सहजताका लागि नेपालगन्ज र कोहलपुर बसपार्कमा नागरिक सहायता कक्षको स्थापना गर्ने भएको उनले बताए । उनका अनुसार नेपालगन्ज बसपार्कमा सहयाकता कक्ष स्थापना भईसकेको छ । कोहलपुरमा उक्त कक्ष स्थापनाको तयारी भईरहेको छ ।
उनका अनुसार भिडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी एवं अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाकका प्रहरी परिचालन गरिने छ । यसैगरी बसपार्क क्षेत्रमा नागरिक-यात्रुको जानकारीकालागि माईकिङ् गर्ने र जिङग्ल बजाउँने तयारी पनि भईरहेको उनले जानकारी दिए ।
‘यात्रुलाई ठग्ने, एउटै व्यक्तिले धेरै वटा सीटको टिकट काट्ने, आवश्यकताभन्दा बढी रकम लिने गरिएको जस्ता गुनासा यसअघि आउने गरेकाले अहिले हामीले त्यसको सुराकीका लागि काउन्टरहरुमा सादा पोशाकका प्रहरी परिचालन गर्ने तयारी गरेका छौं ट्राफिक प्रहरी प्रमुख रोकायले भने ‘उनीहरुले काउन्टरमा भइरहेको गतिविधिबारे सुक्ष्म निगरानी गर्नेछन् । कानुन विपरित कार्य भएको पाइए कारबाही हुनेछ ।’
‘नेपालगन्ज र कोहलपुर बसपार्कमा रहने सहायता कक्षबाट यात्रुहरुको पिरमर्का तथा गुनासोलाई सुक्ष्म रुपमा अनुसन्धान गरी आवश्यक व्यवस्थापन गरिने उनले बताए । ‘नागरिक सहायता कक्ष र टिकट काउन्टरहरुमा देखिने गरी भाडा दररेट राखेर अनिवार्य कार्यान्वय गर्ने व्यवस्था पनि मिलाउन पनि यातायात समितिलाई आग्रह गरिएको उनले जानकारी दिए । दशै, तिहार र छठ पर्वका बेला टिकट सकिएको अवस्थामा यातयाता व्यवसायीसँगको सहकार्यमा थप गाडीको व्यवस्था गर्नका लागि केही दिनमा यातायात व्यवसायीसँग छलफल गर्ने योजना पनि रहेको उनले बताए । यस अवधीमा रातीको समय १० बजेपछि नेपालगन्ज्, कोहलपुर लगायतका विभिन्न क्षेत्रमा जनपथ प्रहरीसँगको सहकार्यमा मासेलगायतका चेकजाँच कडा रूपमा गरिने भएको छ ।
यसैबीच चाडबाडलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बाँकेले सीमामा कडा सुरक्षाको प्रबन्ध मिलाउने भएको छ । दशैंलाई लक्षित गरेर उनीहरुको परिचालनलाई व्यापक बनाउँदै नियमित चेकिङमा थप कडाइ गरिने छ । प्रहरीका अनुसार नेपालगन्ज भित्रिने र बाहिरिने नाका जमुनाहमा मापसेसहितको चेकजाँच राखिने भएको छ ।
चालकले मादक पदार्थ सेवन गरेको पाइए सम्बन्धित व्यवसायिक कम्पनीसँग समन्वय गरेर अर्को चालकको व्यवस्था गरी यात्रुलाई गन्तव्यसम्म सहज रुपमा जान व्यवस्था मिलाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तस्बिर : गुगल
१८ आश्विन २०७५, बिहीबार ११:३० प्रकाशित