आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला क्रिकेटलाई समावेश नगरिएको भन्दै राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले दुःख ब्यक्त गरेका छन । आगामी मंसिर २१ गतेदेखि संचालन हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बिभिन्न खेलहरुको जिल्ला र प्रदेश स्तरीय छनौट प्रतियोगिताको तालिका सार्वजनिक गरिएको भएपनि महिला क्रिकेटलाई भने स्थान नदिएको भन्दै पूर्व कप्तान क्षेत्रीले आफु स्तब्ध भएको बताएका छन ।
सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै पूर्व कप्तान क्षेत्रीले नेपाली महिला क्रिकेटको गर्विलो ईतिहासलाई ममन गर्न सम्बन्धित निकायलाई समेत आग्रह गरेका छन । उनले विज्ञप्तीमा भनेका छन, ‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५ अन्तर्गत हुने विभिन्न खेलहरुको जिल्ला र प्रदेश स्तरीय छनौट प्रतियोगिताकालागि सार्वजनिक गरिएको जिल्ला तयारी सम्बन्धमा निर्धारण गरिएको खेल र खेलाडीहरुको कोटा अन्तर्गत महिला क्रिकेटलाई समावेश नगरिएकोमा स्तब्ध र दुखित तुल्याएको छ ।’
विज्ञप्तीमा अगाडी भनिएको छ, ‘नेपाली पुरुष क्रिकेटले समेत एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको परिप्रेक्षमा यस खेललाई अझ शसक्त एवं योजनावद्ध तरिकाले सम्वद्र्धन, प्रवद्र्धन र विकास गर्नुको साटो महिला क्रिकेट खेलको जिल्ला छनौट नै नराख्नु त्रुटी भएको छ ।’
क्षेत्रीले विज्ञप्ती मार्फत तत्काल त्रुटी सच्याई महिला क्रिकेटलाई समेत जिल्ला छनौट प्रतियोगितामा समावेश गर्न नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र सम्बन्धित योजनाकारहरुलाई ध्यानाकर्षण गराएका छन । महिला क्रिकेटका अभियन्ता समेत रहेका क्षेत्रीले महिला क्रिकेटकालागि जिल्लाबाट नै छनौट हुनेगरी ब्यवस्था मिलाउन समेत आग्रह गरेका छन ।
१५ आश्विन २०७५, सोमबार १५:४१ प्रकाशित