बाँकेको कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र पुनः विवादमा मुछिएको छ । एकै कार्यकालयकालागि दुई वटा कार्यसमिति गठन गरेर चर्चामा आएको पुस्तकालयमा पुनः अर्को घटना सार्वजनिक भएको छ ।
बदर भएको कार्यसमितिका अध्यक्ष लगायतले पुस्तकालय बाट महत्वपूर्ण कागजपत्र चोरी गरी लगेको पुस्तकालयका आजिवन सदस्यहरुले आरोप लगाएका छन । पुस्तकालयको नियम अनुसार आईतबार पुस्तकालय बन्द रहने भएपनि रातीको समयमा पुस्तकालय प्रवेश गरी महत्वपूर्ण कागजपत्रहरु चोरी गरिएको पुस्तकालयका आजिवन सदस्यद्धय तेजप्रसाद चापागाँई र खिलप्रसाद भुषालले आरोप लगाएका हुन ।
आईतबार एक विज्ञप्ती जारी गर्दै आजिवन सदस्यद्धवयले रातीको समयमा के-कती कारणले पुस्तकालय खोलिएको हो, त्यसको बारेमा आवश्यक छाविन गरी कारवाही गर्न स्थानिय प्रशासनसँग माग समेत गरेका छन । उनिहरुले चोरी काण्डको छानविनको माग गर्दै पुस्तकालयमा तालाबन्दी समेत गरेको जनाएका छन ।
पुस्तकालयको २१ औं साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएको दावी गर्दै आएका चेतकान्त भट्टराई सहित रुद्रमणी न्यौपाने र पुस्तकालयकै कर्मचारी शिवध्वज शाही आईतबार राती ७ः३० बजे पुस्तकालयमा प्रवेश गरेको सुचना पाएपछि केही आजिवन सदस्यहरु पुस्तकालय पुगेका थिए ।
सोहि विषयमा बुझ्न खोज्दा पुस्तकालयका अस्विकृत अध्यक्ष चेतकान्त भट्टराईले प्रदेश नं. ५ सरकारको कृषि, सहकारी तथा भुमि ब्यवस्था मन्त्रालयले प्रपोजल माग गरेकाले सोही प्रयोजनकालागि कार्यालयमा पुगेको बताए । उनले पुस्तकालयका कर्मचारी शिवध्वज शाहीले प्रपोजल प्रिन्ट गर्न पुस्तकालयमा आएको जानकारी दिएकाले आफु पनि पुस्तकालय पुगेको स्पष्टिकरण दिएका छन । उनले प्रपोजन तयार गर्नकालागि हालका अध्यक्ष लिलबहादुर रानाकै निर्देशनमा पुस्तकालय खोलिएको जिकिर गरेपनि आफुले त्यस्तो कुनै निर्देशन नदिएको पुस्तकालयका अध्यक्ष लिलबहादुर रानाले बताए ।
काँचुलीसँगको टेलिफोन कुराकानीमा अध्यक्ष रानाले भने, ‘कुन प्रयोजनकालागि रातीको समयमा पुस्तकालय खोलियो, त्यसका बारेमा मलाई कुनै जानकारी छैन ।’
उनले जिल्ला प्रशासन कार्यालयले हालको दुबै कार्यसमितिलाई बदर गरेको अवस्थामा आफुहरुले कुनैपनि प्रपोजलको काम नगरेको समेत स्पष्ट पार्दै आफुहरु नयाँ कार्यसमितिको निर्वाचनमा मात्र केन्द्रित भएको बताए ।
सोत : युगयान दैनिक
१४ आश्विन २०७५, आईतवार २३:३२ प्रकाशित