धरापमा कोहलपुरस्थित भेरी शीत भण्डार
  • काँचुली खबर

विगतमा बार्षिक ५० लाख बढीको आम्दानी गर्दै आएको कोहलपुरस्थित भेरी शीत भण्डार सहकारी संस्था पछिल्लो समय धरापमा परेको छ । अहिले उक्त संस्था घाटामा चलिरहेको छ । सरकारी उदासीनताका कारण किसानको उत्पादनमा बृद्धि हुन नसक्दा संस्थाको क्षमताअनुसार खाद्यबस्तु भण्डार हुन नसकेपछि संस्था घाटामा गएको संस्थाका अध्यक्ष डोलराज आर्यालले बताए ।
५० हजार बोरा अट्न सक्ने क्षमता रहेको उक्त भण्डारमा अहिले ३० हजार बोरा कृषिजन्य बस्तुहरू मात्र मौज्दात रहेको उनले जानकारी दिए । अर्यालका अनुसार क्षमता अनुसार कृषिजन्य बस्तु मौजादका लागी नआउँदा शीत भण्डार खाली नै छ । शीतभण्डार घाटामा रहेको कारण गएको बैशाख र जेठ महिनामा कर्मचारीलाई तलब समेत समयमै दिन नसकिएको अध्यक्ष अर्यालले जानकारी दिए ।
उनका अनुसार कर्मचारीले यी दुई महिनाको तलब असारमा मात्रै पाएका थिए । उनले भने ‘संस्थाले नयाँ शीत भण्डारको निर्माण गर्दै छ त्यसैले पनि होला अहिले केही समस्या र चुनौतीहरू छन् । विगत बर्षमा करिब आधा करोड नाफामा रहेको उक्त संस्थामा अहिले एक करोड ऋण समेत लागेको छ ।’

राष्ट्रिय सहकारी विकास बोर्ड मार्फत सरकारले दिर्घकालिन ऋण सहयोग प्रदान गरेको भेरी शीत भण्डारमा अहिले पनि ४ करोड ८१ लाख रुपैयाँ सरकारी लगानी रहेको छ । उक्त ऋण सरकारले मिनाह गर्न समेत चासो नदेखाएको अध्यक्ष अर्यालले जानकारी दिए । सो ऋण तत्काल मिनाह हुनुपर्ने उनको माग छ ।
२०६४ देखि शीत भण्डारले कृषिजन्य बस्तुहरुको भण्डारण गर्दै आएको संस्थाका व्यवस्थापक मदन रावतले बताए । २ हजार ९ सय १२ जना शेयर सदस्य रहेको संस्थामा किसानले भण्डारण गरेको कृषिजन्य बस्तुहरुमा प्रतिकिलो ४ रुपैयाँ भाडा लिने गरिएको रावतले जानकारी दिए ।
शीत भण्डारमा बिशेष गरी आलुको विऊ, स्याउ, आँप लगायत का फलफुल समेत भण्डारण गर्ने गरिएको छ । भेरी शीत भण्डारमा ८० प्रतिशत कृषिजन्य बस्तु बर्दियाबाट आउने गरेको छ । सुर्खेत, बाँके, दाङ, प्यूठान र कैलालीबाट पनि भण्डारका लागि किसानले बस्तु ल्याउने गरेको संस्थाले बताएको छ ।
भेरी शीत भण्डारमा आवश्यकता अनुसारका कृषिजन्य बस्तु भण्डार हुन नसकेपनि संस्थाको भण्डारण क्षमता बृद्धि गरिएको छ । संस्थाले ५ करोडको लागतमा नयाँ भण्डार गृह निर्माण गरेसँगै संस्थाको क्षमतामा बृद्धि भएको अध्यक्ष अर्यालले बताए ।
उनका अनुसार अब संस्थाको गोदाममा ४ हजार मेट्रिक टन कृषिजन्य बस्तु भण्डार गर्न सकिन्छ । करिब साढे दुई बर्षदेखि निर्माण शुरु गरिएको उक्त शीत भण्डार आगामी फागुनसम्ममा सञ्चालनमा आउने अध्यक्ष अर्यालले बताए । उनका अनुसार यसकालागि मेशिन जडान कार्य अन्तिम चरणमा पुगिसकेको छ ।

  • २९ श्रावण २०७५, मंगलवार ११:०१ प्रकाशित
  • Nabintech