२ मंसिर, कोहलपुर । रगतको रङ रातो हुन्छ, तर यसको सुगन्ध प्रेम र सहानुभूतिको पनि हुन्छ । अस्पतालको आकस्मिक कक्षमा दुर्घटनामा परेका घाइतेहरू, प्रसूति पीडामा थकित आमा र असहाय आँखाले हेर्दै गरेका परिवारहरू सबै एउटै कुराको प्रतीक्षा हुन्छन, त्यो हो रगत । रगत अभावका कारण हरेक दिन कोही न कोही जीवन र मृत्युको सीमामा संघर्ष गरीरहेका हुन्छन । र त्यहीँ कतै शान्त रूपमा अगाडि बढ्ने केही साहसी हातहरू – यी सबैबीच बगिरहेको छ एउटा मौन तर शक्तिशाली सन्देश ।
बाँकेका ती महिलाहरू, जसले समाजको हिचकिचाहट र डर पार गरेर आफ्नो शरीरको रगत अरूको शरीरमा बग्ने बनाएका छन् । तीमध्ये एक हुन् कोहलपुरकी अन्जना पाण्डे । पहिलो पटक जब अञ्जना पाण्डेले रक्तदान गर्ने निर्णय गरिन्, उनको मनमा हल्का डर थियो । “रगत दिएपछि शरीरले नथेग्ला कि ?” भन्ने प्रश्नले उनलाई केही समयसम्म रोकिराख्यो । तर जिज्ञासु स्वभावकी अञ्जनाले यसबारे खोज गर्न छोडिनन् त्यसपछि उनले थाहा पाइन्, मानव शरीरले प्रत्येक तीन महिनामा नयाँ रगत उत्पादन गर्छ । त्यसबेलादेखि उनको सोच नै फेरियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
“अब त रक्तदान मेरो जीवनको प्राथामिकता बनेको छ,” अञ्जना हाँस्दै भन्छिन्, “जब सोच्दछु, मेरो रगतले कसैको जीवन बाँचेको छ, त्यो क्षणको खुशी शब्दमा ब्यान गर्न सक्दिन ।”

अन्जना पाण्डे
राजनीतिककर्मी भएर व्यस्त जीवन चलाइरहेकी अञ्जना समाजसेवामा पनि त्यत्तिकै समर्पित छन् । उनी मान्छेप्रति माया र सहानुभूति नै साँचो नेतृत्वको आधार हो भन्ने विश्वास गर्छिन् । रक्तदान उनको लागि दायित्व मात्र नभई, मानवता बाँच्ने एउटा माध्यम बनेको छ ।
नेपालगञ्जदेखि करिब १५ किलोमिटर टाढा, राप्तीसोनारीकी तारा वली पनि आफ्नो गाउँका मानिसको जीवन बचाउने उद्देश्यले सक्रिय छिन् । अस्पतालमा पहिलो पटक रगतदान गर्दा उनलाई अलिक गाह्रो भयो, तर त्यो गाह्रो अनुभवसँगसँगै आत्मसन्तोषको अनुभूति भयो । उनको हातमा सानो पट्टी बाँधिएको थियो, तर मुटुमा गर्वको ठूलो भार । रगतको त्यो थोपा कसैको जीवन बचाउन सहयोगी भएको थियो भन्ने बुझ्दा उनलाई अनौठो खुशी र शान्ति महसुस भयो ।
उनको साहस र उदारताले गाउँमा समेत प्रेरणा फैलाएको छ । अब गाउँका अरू महिलाहरू पनि यनको अनुकरण गर्दै रक्तदानमा सक्रिय भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका-१२, बेलासपुरकी गीता थापा समाजसेवामा रुचि राख्ने एक उदाहरणीय युवती हुन् । उनले विगत केही वर्षयता नियमित रूपमा रक्तदान गर्दै आइरहेकी छिन् । गीता भन्छिन्, “जब म रगत दिन्छु, म महसुस गर्छु की म कसैको जीवनको कारण बनेकी छु ।” उनका अनुसार, रक्तदानले अरूको ज्यान मात्र बचाउँदैन, यसले आफ्नै मनमा पनि अद्भुत सन्तोष र मानवीयताको अनुभूति गराउँछ । उनी भन्छिन्, “सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ, त्यसैले हरेक सक्षम व्यक्तिले समय-समयमा रक्तदान गरेर समाजप्रति आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।”

तारा वली
अञ्जना, तारा र गीता, तीनवटा फरक स्थान र जीवनका कथा बोकेका पात्र हुन्, तर उनीहरूको धड्कन एउटै मानवीय भावनाले चलायमान छ । रगतको थोपा मार्फत जीवन बाँड्ने संंकल्प सहित उनिहरु अगाडी बढिरहेका छन ।
अञ्जनाले हिचकिचाहट र डर पार गरेकी थिइन्, तर त्यो डरको ठाउँमा अहिले गर्व र आत्मसन्तोषले ठाउँ लिएको छ । तारा गाउँको परम्परागत सोच तोड्दै पहिलो पटक अस्पताल पुगेकी थिइन् । त्यो कदमले उनको गाउँमा चेतना र साहस दुवै जगाएको छ । गीता त युवापुस्ताकी प्रतिनिधि हुन् जसले देखाएकी छिन्, समाजसेवा ठूलो मंच वा भाषणमा सीमित हुँदैन, कहिलेकाहीँ त्यो सुईमा पनि प्रकट हुन्छ ।
यी महिलाहरूले प्रमाणित गरेका छन्, परिवर्तन सुरु गर्न ठूलो साधन चाहिँदैन, चाहिँदैन शक्ति, चाहिन्छ मनको इच्छाशक्ति । रगतको केही थोपा अरूको जीवनमा आशाको ज्योति बन्न सक्छ र त्यो काम कुनै विशेष वर्गको होइन, प्रत्येक सचेत र सक्षम नागरिकको जिम्मेवारी हो ।
अस्पतालको आकस्मिक कक्षमा सास फेर्न संघर्ष गरिरहेको जीवनलाई बाँच्ने अवसर दिनु चिकित्सकको हातमा मात्र नभई हाम्रै हातमा पनि हुन्छ । रगत दान गर्नु शारीरिक क्रिया होइन, त्यो त संवेदना, सहानुभूति र साझा अस्तित्वको उत्सव पनि हो । जहाँ “म” र “तिमी” भन्ने सीमारेखा मेटिन्छ र बाँकी रहन्छ एउटा शब्द – मानवता ।
३ मंसिर २०८२, मंगलवार १४:२१ प्रकाशित