१३ चैत्र, कोहलपुर । दाङको घोराही उपमहानगरपालिकाको गुरूवा गाउँ मुलुकभरमा सबैभन्दा धेरै ‘बर्सिम’ घाँस र त्यसको बिउ उत्पादन गर्ने गाउँ मानिएको छ। नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र सरकारले सञ्चालन गरेका नेपालगञ्जको गौघाट, जनकपुर फर्म सबैलाई गुरूवा गाउँले नै बिउ दिने गरेको छ।
सरकारी निकायमा मात्र होइन, बर्सिम घाँसको बिउ पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दाङबाटै जाने शिवशक्ति घाँस बिउ उत्पादक संघ कृषि सहकारीका सचिव विमल अधिकारी बताउँछन्।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘गुरूवा गाउँ बर्सिम घाँसको मूल बिउ उत्पादक हो। नेपालमा सबैभन्दा बढी बिउ उत्पादन गर्ने गाउँ पनि यही हो,’ विमलले भने, ‘गुरूवा गाउँ र आसपासमा गरी हाल करिब पाँच सय बिघामा बर्सिम खेती हुन्छ।’
यो गाउँमा २०४८ सालदेखि बर्सिम खेती सुरू भएको हो। स्थानीय किसानले तत्कालीन जिल्ला पशुसेवा कार्यालयबाट बिउ लगेर घरमा पालेका पशुको आहारका लागि बर्सिमको थोरथोरै खेती थालेका थिए। त्यसको दस वर्षपछि २०५८ सालमा व्यावसायिक खेती सुरू भयो। हाल करिब पाँच सय किसान बर्सिमको खेतीमा छन्।
पशुका लागि ‘घाँसको राजा’ मानिने बर्सिममा प्रशस्त प्रोटिन हुने विज्ञहरू बताउँछन्। मंसिरदेखि वैशाखसम्म हरियो घाँस खुवाउन मिल्ने र त्यसपछि बिउ बेचेर फाइदा हुने भएकाले किसानहरू यसको व्यावसायिक खेतीमा लागेका हुन्।
धान काटेर खाली भएको खेतमा यसको बिउ छरिन्छ।
शिवशक्ति घाँस बिउ उत्पादक संघ कृषि सहकारीका सचिव विमलको पनि दुई बिघा खेतमा घाँस छ। गत वर्ष उनले दुई लाख रूपैयाँको बिउ बेचेका थिए। यसपालि तीन लाख रूपैयाँको बेच्ने लक्ष्य छ।
सामान्यतया बर्सिमको बिउ प्रतिकिलो २५० रूपैयाँसम्म बिक्री हुन्छ।
कतिपय किसान आफैले बिउ बेच्छन्। अधिकांशले भने वैशाखपछि बिउ संकलन गरेर संघको भण्डारमा पुर्याउँछन्। संघले बिउ ग्रेडिङ र प्याकेजिङ गर्छ। आफ्नो लोगो लगाउँछ अनि बेच्छ। गत वर्ष संघले पचास हजार किलो घाँसको बिउ बेचेको विमलले बताए।
‘घाँसको बिउ मात्रै बेचेर यो ठाउँमा वार्षिक दुई करोड रूपैयाँ भित्रिन्छ,’ उनले भने।
बर्सिम घाँस उत्पादक किसानले सरकारी निकायबाट सहयोग पनि पाएका छन्। सिँचाइका लागि गुरूवा गाउँमा चार वटा डिप बोरिङ सरकारी अनुदानमा खनिएका छन्।
बर्सिम घाँस हिउँदमा मात्रै लगाइन्छ। महिनामा एकपटक सिँचाइ चाहिन्छ। चैतको पहिलो हप्ता घाँस फुल्न थाल्छ। कहिलेकाहीँ रोग-कीरा पनि लाग्छ। फुल्न सुरू हुने समयमा विज्ञको सिफारिस अनुसार विषादी छर्दा राम्रो हुन्छ।
विमलले बर्सिमको व्यावसायिक खेती गरेको दुई दशक भयो। बिउ बिक्रीका लागि आफूले विभिन्न जिल्लाभ्रमण गरेको उनले बताए।
‘म सरकारी निकाय मात्रै धाइनँ, सम्बन्धित क्षेत्रका मन्त्रीहरूलाई पनि भेटेर बिउ किनिदिन आग्रह गर्दै हिँडेँ,’ उनले भने, ‘त्यो प्रयासपछि नार्क र अरू सरकारी निकायले दाङबाटै बर्सिमको बिउ किनेर लगिरहेका छन्।’
यस पटक नार्कको आग्रहमा उनले पाँच सय किलो हरियो घाँस काटेर सुकाएका छन्। सुकाउने काम सूर्यको प्रकाशमा नभई शीतल छहारीमा भइरहेको छ। नार्कले बर्सिम सुकाएर बनेको पराल पशुको आहारका लागि कति उपयुक्त हुन्छ र त्यसरी सुकाउँदा प्रोटिनको मात्रामा कति असर पर्छ भन्ने परीक्षण गर्ने भएको छ।
गुरूवा गाउँकै ४६ वर्षीय रामजनम चौधरीले पनि १२ वर्षयता बर्सिमको व्यावसायिक खेती गरिरहेका छन्। गत वर्ष उनले आठ सय किलोभन्दा बढी बिउ बेचेर एक लाख ६० हजार रूपैयाँ कमाए। उनले २४ कट्ठामा घाँस लगाएका छन्। यसमध्ये १५ कट्ठा आफ्नै हो, बाँकी अधियाँ।
‘यस वर्ष आम्दानी अझै बढ्ने अनुमान छ,’ रामजनमले भने, ‘किसानका लागि सबभन्दा महँगोमा बिक्री हुने भनेकै घाँस रहेछ। फाइदा त यसमै रहेछ। घाँस खेतीबाट राम्रो आम्दानी भएकाले घरव्यवहार चलाउन सजिलो भएको छ।’
बर्सिम खेती सुरू गर्नुअघि उनी हिउँदमा तोरी, गहुँ, मसुरो, जौ इत्यादि लगाउँथे। यसमा खनजोत, रासायनिक मल र सिँचाइ बढी चाहिन्थ्यो। घाँसमा खनजोत गर्नु पर्दैन। धान काटेपछि चिस्यान छँदै जमिनमा सोझै बिउ छरिदिए हुन्छ। मल पनि धेरै चाहिँदैन।
घाँस खेती भएपछि रामजनमलाई पशुपालनमा पनि सजिलो भएको छ। गत फागुन अन्तिम सात उनले ६ वटा खसी बेचे। अहिले घरमा एउटा भैंसी र त्यसको पाडो छ। उनी हरियो घाँस भने बेच्दैनन्।
भन्छन्, ‘घाँस बेचेर फाइदा हुँदैन। बिउ बेच्दा दोब्बर आम्दानी हुन्छ। घाँस आफ्ना चौपायालाई मात्रै खुवाउँछौं।’
मल र पानीको मात्रा मिलाउन जान्दा बर्सिम एक सिजनमा दुई–तीन पटक काट्न मिल्छ। जति काटे पनि आफै पलाउँछ र चैत सुरूमा फुल्न थाल्छ।
घोराहीमा बर्सिम घाँसको खेती गर्ने किसानहरू हरेक वर्ष बढ्दैछन्। आम्दानीबाट सबै किसान खुसी देखिन्छन्। हरेक वर्ष बिउको बढ्दो बिक्रीले अन्यत्र पनि यो घाँसको खेती विस्तार हुँदै गएको देखाउँछ।
सेतोपाटीबाट
१२ चैत्र २०८१, बुधबार १५:३६ प्रकाशित