१८ फागुन, बुटवल । रोल्पाको त्रिवेणी गाउँपालिका-६ थुम्काटोलकी ३२ वर्षीया अस्मिता बुढाको फागुन १३ गते आफ्नै श्रीमान् खिमबहादुर बुढाको खुकुरी प्रहारबाट हत्या भयो । १४ महिनाकी छोरी काखमा च्यापेर भान्सामा तरकारी केलाउँदै गरेकी अस्मिताले श्रीमान्बाटै असुरक्षा होला भन्ने सोचेकी पनि थिइनन् ।
पछाडिबाट घाँटीमा खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेपछि खिमबहादुर त्यही खुकुरी लिएर गाउँमै घुमिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
इलाका प्रहरी कार्यालय होलेरी रोल्पाका प्रमुख सरोज प्रजापतिले श्रीमतीले होच्याउने गरेकाले आवेशमा आएर हत्या गरेको बयान दिएको बताए । ‘अहिलेसम्मको अनुसन्धानमा श्रीमतीले होच्याएर बोल्ने गरेकाले आवेशमा हत्या गरेको स्वीकार गरेका छन्,’ उनले भने, ‘मलेसियामा रोजगारी गरेर फर्केका उनमा मानसिक समस्या पनि देखिन्छ ।’
खिमबहादुरले नियमित मदिरा सेवन गर्ने गरेको प्रहरीले जनाएको छ । अस्मिता र खिमबहादुरका दुई छोरा र एक छोरी छन् ।
रूपन्देहीको कञ्चन गाउँपालिका-१ का २१ वर्षीय सुन्दर परियारले फागुन १ गते धारिलो हतियार प्रहार गरी आफ्नै आमा ४६ वर्षीया पार्वती परियारको हत्या गरे । रिसको झोँकमा सुरुमा आमाको आँखा फुटाएका उनले पछि हत्या गरेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितका अनुसार पत्याउनै गाह्रो हुने गरी सुन्दरले आमाको हत्या गरेपछि समाज त्रसित छ । सरोज पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको भनाइ छ । पैसा माग्दा नदिएपछि आमाको हत्या गरेको उनले अनुसन्धान क्रममा प्रहरी हिरासतमा स्वीकार गरेका छन् ।
गुल्मीको मालिका गाउँपालिका-८ कालिमाटीका ६० वर्षीय लालबहादुर घर्ती आफ्नै छोरा २९ वर्षीय डम्बरबहादुर घर्तीबाट माघ ७ गते राति मारिए । घरायसी कुरामा सामान्य विवाद हुँदा डम्बरले बाबुलाई चिर्पट दाउराले हानेर हत्या गरेका थिए ।
दुवै घरमा मदिरा सेवन गरिरहेका थिए । बाबु सामान्य अपांगता भएका व्यक्ति थिए । मदिरा सेवनपछि आमाको वृद्धभत्ता र बाबुको अपांग भत्ताको विषयमा विवाद भएपछि उनले बाबुमाथि चिर्पट प्रहार गरेका थिए । घरमा बाबु, आमा र छोरा मात्र भएकाले हत्यापछि उनी आफैले बाबुलाई नजिकै खाल्डो खनेर गाडेर भागेका थिए ।
वडा अध्यक्ष सूर्यबहादुर जिसीका अनुसार जंगल छेउको एकान्तमा घर भएकाले आफूलाई पनि हत्या गर्ने डरले आमा त्यो दिने लुकेरै बसिन् । भोलिपल्ट मात्र गाउँमा हल्ला भयो ।
गत माघ ३० गते रुकुम पूर्वको भुमे गाउँपालिका-४ साकिमका ५३ वर्षीय चन्द्रसिंह पुनले धारिलो हतियार प्रहार गरी आफ्नै छोरी ढाँटी बुढा र उनका ८ महिने छोराको हत्या गरे । दुई जनाको हत्या गरेर हातमा खुकुरी लिएर हिँडेको उनी प्रहरीको गाडी देखेपछि भाग्न खोज्दा भीरबाट लडे । त्यस क्रममा आफैले बोकेको खुकुरीले काटिएर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधव खरेलले घटना आवेशबाटै भएको देखिएको बताए । ‘हत्या गर्ने पुनको कुनै पूर्वयोजना भेटिएन,’ अनुसन्धानमा संलग्न उनले भने, ‘परिवार र आफन्तबाटै भएको यस्तो घटनाले परिवार, आफन्त र सिंगो समाज असुरक्षित बन्दै गएको छ ।’ आपराधिक मानसिकताको सुषुप्त पाटो कति बेला र कहाँ सक्रिय भएर डरलाग्दो रूप लिन्छ भन्ने त्रासको अवस्था समाजमा बढेको उनले बताए ।
प्युठानको माण्डवी गाउँपालिका-२ रातापानीमा ६० वर्षीय रामबहादुर र हुकुमा परियार दम्पतीको गत फागुन ९ गते राति हत्या भयो । ४ छोरा भारतमा र ३ छोरी बिहे गरेर घरमा गएपछि वृद्ध दम्पती मात्रै घरमा थिए ।
फागुन १० गते दिउँसोसम्म पनि घरको ढोका नखेलेपछि नजिकै घर भएका दाजु रामबहादुरका छोरा पंकज परियारले खोजी गर्दा उनीहरु घरभित्रै मृत अवस्थामा देखिए । पंकजसहित गाउँलेले प्रहरीलाई खबर गरे । अनुसन्धान गर्दै जाँदा ३४ वर्षीय पंकजले नै दुई जनाको हत्या गरेको देखिएको प्युठानका प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले बताए ।
‘नातामा दाजुका छोरा भतिज पर्ने पंकजबाटै हत्या भएको अनुसन्धानबाट खुलेको छ । उनैले फोन गरेर काकाकाकीको हत्या भएको भन्दै सूचना दिएका थिए,’ उनले भने, ‘अनुसन्धान गर्दै जाँदा उसले नै घनले टाउकोमा हानेर हत्या गरेको देखियो ।’
मृतक हुकुमाले ‘थारो’ भनेर गाली गर्ने गरेकाले हत्या गरेको पंकजले स्वीकार गरेका छन् । पंकजकी श्रीमतीले एक वर्षअघि छाडेर अर्को विवाह गरेकी थिइन् । श्रीमतीलाई राख्न नसकेको, छोराछोरी नपाएको भनेर गाली गर्ने गरेकाले त्यसैको रिसमा हत्या गरेको पंकजले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
पंकजले राति माथिल्लो तलाको झ्यालबाट भित्र पसेर निदाएका दम्पतीलाई घनले टाउकामा हानेर हत्या गरेका थिए ।
माघ दोस्रो साता पाल्पाको तानसेन नगरपालिका-१४ बडिज्ञान टोलमा भाडामा बस्दै आएका रिब्दीकोट गाउँपालिका-१ ख्याहाका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी डेरामै मृत भेटिए । मजदुरी गर्ने बुढाथोकीको हत्याको अनुसन्धान गर्दा ३२ वर्षीय घरबेटी माधव विष्टले हत्या गरेको खुल्यो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी नरेन्द्र चन्दले घरबेटीले नै हत्या गरेको खुलेको र त्यसको मुद्दा चलिरहेको बताए । ‘पाल्पामा केही समययता तीनवटा यस्ता गम्भीर प्रकृतिका घटना देखिए, ख्याहामा अविवाहित युवतीको क्रूर ढंगले हत्या भयो, रैनादेवी छहरामा श्रीमान्ले श्रीमतीलाई दाउराले हानेर मारे,’ उनले भने, ‘धेरै घटना मदिराकै कारण भएका छन् ।’
माथिका यी ६ घटना पछिल्लो डेढ महिनाका हुन् ।
सामान्य बेमेल, मानसिक तनाव र आर्थिक अभाव हत्याका धेरै घटनाका कारक बनेका छन् । पहाडी जिल्लाबाट बसाइँसराइ बढ्दो छ । गाउँका घरमा नजिक छिमेकी र आफन्त कोही नहुँदा हत्या र अपराधका घटना बढेका छन् । काम गर्न सक्ने सन्तान रोजगारीका लागि घर छोडेर बाहिर पुगेकाले पनि गाउँमा रहेका वृद्धवृद्धा असुरक्षित बन्दै गएका छन् । त्यसले झनै सुरक्षा चुनौती बढिरहेको प्युठानका प्रहरी प्रमुख दीपेश बस्यालले बताए । ‘पछिल्लो समय मानिसले घरपरिवार र समाजबाटै असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउन थालेको छ,’ उनले भने, ‘समाजका लागि यो गम्भीर चुनौती पनि हो ।’
लुम्बिनीमा पछिल्लो ६ महिनामा ५७ जनाको हत्या भएको छ । तीमध्ये परिवारबाटै मारिएका १४ जना छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार माघ मसान्तसम्ममा सबैभन्दा बढी रूपन्देहीमा ९ जनाको हत्या भएको छ । दाङ र बाँकेमा ७-७, पश्चिम नवलपरासीमा ६, प्युठान र रोल्पामा ५-५, पाल्पा र गुल्मीमा ४-४, रुकुम पूर्व, अर्घाखाँची र कपिलवस्तुमा ३-३ र बर्दियामा १ गरी ५७ जनाको हत्या भएको छ ।
त्यसमध्ये रूपन्देही र प्युठानमा ३-३, गुल्मी र रोल्पामा २, रुकुम पूर्व, पाल्पा, अर्घाखाँची र दाङमा १-१ गरी १४ जनाको एकै घरका परिवारबाटै हत्या भएको छ । ६ महिनामा लुम्बिनी प्रदेशमा मात्र कर्तव्य ज्यान, खुनडाँका, अपहरण तथा ज्यान मार्ने उद्योग, चोरीडाँका लगायतका घटनामा ७ सय ८८ वटा मुद्दा दर्ता भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी दानबहादुर कार्की पछिल्लो समय समाजमा बढ्दो भौतिकवाद, भोग्यवाद र पारिवारिक विखण्डनले आपराधिक गतिविधि बढाउँदै लगेको बताउँछन् । परिवारभित्रको बेमेल, आर्थिक अभाव, समाजमा अरुको देखासिकी, सामाजिक सञ्जालको दुरुपयोग र आपसी मनमुटावले अपराधका घटनाको ग्राफले बढ्दो रहेको उनले बताए ।
‘मुख्यतः सामाजिक विचलन, पारिवारिक विखण्डन, समाजमा अरुको देखासिकी र विभिन्न सामाजिक सञ्जालको प्रयोगले अपराधिक गतिविधि र अपराधिक मानसिकता बढाएको देखिन्छ,’ उनले भने, ‘लागुपदार्थको दुर्व्यसन, सोसल मिडियामा हेरेर वा देखेर र परिवारमा सम्पत्तिका नाममा पनि भवितव्यका घटना भएका छन् ।’
बसाइँसराइ र रोजगारीका लागि परिवारका युवा सदस्य घरबाहिर हुँदा पनि समाजमा विखण्डन बढ्दो छ । ‘नेपाली समाज पारिवारिक विखण्डनतर्फ गएको जस्तो देखिन्छ,’ कार्कीले भने, ‘पारिवारिक मनमुटाव, घरेलु हिंसा, बालविवाह, कुटपिट, देखासिकी, पश्चिमा देशको प्रभाव, ‘लिभिङ टुगेदर’, व्यभिचारले पनि अपराध बढाएको छ ।’ सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसमा एक प्रकारको एन्जाइटी बढाउने, त्यसपछि निराशा उत्पन्न भएर हत्या र आत्महत्यामा पुगेको उनले बताए ।
प्युठानको माण्डवी गाउँपालिका-२ का वडाध्यक्ष प्रकाश वली गाउँमा वृद्धवृद्धा र बेरोजगार मात्र रहेको र त्यसले नै असुरक्षा बढाइरहेको बताउँछन् । ‘बसाइँसराइले बस्ती निकै पातलो छ, हत्या, लुटपाट वा गलत क्रियाकलापको उद्देश्यले अहिले हत्याका घटना बढेका छन्,’ उनले भने, ‘निरन्तर मोबाइल चलाउने, सामाजिक सञ्जाल हेर्ने र त्यसकै सिको गर्नेले पनि समाजमा मानसिक समस्या बढ्दै गएर अपराधका घटनामा वृद्धि हुन थाले ।’ अब स्थानीय पाठ्यक्रममा मानसिक रोग बढाउने कारण र त्यसको नियन्त्रणका विषयमा सामग्री राखेर हरेक विद्यालयले पढाउनुपर्ने उनले सुझाव दिए ।
अधिवक्ता महेन्द्र पाण्डे समाजमा अरुको देखासिकीले आफ्नो आवश्यकता र चाहना पूरा नहुँदा अपराधका घटना बढ्ने बताउँछन् । ‘सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट अरुका गतिविधि नियाल्ने अनि आफ्नो चाहना र आवश्यकता पूरा नहुँदा मानिसमा आक्रामक रुप देखिन्छ,’ उनले भने, ‘त्यसबाट निराशा बढ्छ, सोच र चरित्र बदलिन्छ, अरुमाथि शत्रुताको नजरले हेर्न थाल्छ र अन्त्यमा अपराधमा संलग्न हुन्छ ।’ व्यक्तिको सोच र चरित्र परिवर्तनले भइरहने भएकाले स्वस्थकर सम्बन्ध विकास गर्ने चेतना बढाउन जरुरी रहेको उनले बताए । ‘हामी भन्ने भावना होइन, म र मेरो भन्ने सोच विकास हुँदै गएको छ,’ उनले भने, ‘त्यसले समाजलाई पनि विखण्डित गर्छ, त्यसैले त्यो बदल्नु जरुरी छ ।’
कान्तिपुरबाट
१८ फाल्गुन २०८१, आईतवार १८:४८ प्रकाशित