१२ माघ, नेपालगन्ज । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक (तुफान)ले खजुरा बहुउद्देश्यीय सभा हलको नामकरणका बारेमा भ्रमपूर्ण प्रचारबाजी भएको भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन । उनले उक्त सभाहलको ठेक्का आव्हान गर्दा, ठेक्का सम्झौता गर्दा देखि पटक पटक म्याद थप गर्दा समेत बहुउद्देश्यीय सभाहल बाहेक अन्य कुनै नाम गाउँपालिकाको अभिलेखमा नरहेको स्पष्ट पारेका छन ।
०७६ बैशाख १७ गतेको ठेक्का आह्वान गर्दा बहुउद्देश्यीय सभा हल भनेर नामकरण गरेको, ०७६ बैशाख २४ गते ठेक्का सम्झौताको आशय सूचनामा बहुउद्देश्यीय सभा हल नै भनेर नामकरण गरिएको उनको भनाई छ । ०७७ /७८ को सतौँ गाउँ सभामा थप बजेट सुनिश्चित गर्दा ०७७ असार २५ गते पास हुँदा समेत खजुरा बहुउद्देश्यीय सभा हल निर्माण भनी बजेट बिनियोजन भएको गाउँपालिकाको अभिलेखमा रहेको उनको भनाई छ ।
यही माघ १० गतेका दिन उद्घाटन भएको सभाहलको नाम खजुरा बहुउद्देश्य सभाहल नामकरण गरीएकाे भन्दै नेकपा एमाले बाँकेले विज्ञप्ति निकालेर विरोध जनाएको थियो । एमालेले सो सभाहलको मदन भण्डारी सभाहल नाम राख्न समेत माग गरेको छ ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफानले खजुराको पहिचान हुने गरि खजुरा बहुउद्देश्य सभाहल नामकरण गरिएको भन्दै तथ्यहीन र विरोधका लागी विरोध नगर्न आग्रह गरेका छन ।
१२ माघ २०८१, शनिबार २१:१० प्रकाशित