गम्भीर प्रकृतीको घटनामा कोहलपुर प्रहरीको उदासिनता

अपराधि जोगाउन राजनितीक चलखेल

  • काँचुली खबर

७ माघ, कोहलपुर । बाँके प्रहरीको उदासिनताका कारण गम्भीर प्रकृतीको एउटा घटना ओझेलमा परेको छ । ज्यान मार्ने उद्योग जस्तो गम्भीर विषयमा प्रहरीले चरम लापरबाही गरेको पाईएको छ ।

घटना घटेको एक महिना बित्नै लाग्दासमेत उक्त घटनाका आरोपीलाई कारबाही र पीडितलाई न्याय दिलाउन कोहलपुर प्रहरीले बेवास्ता गरेको देखिएको छ । घटना घटेको र कार्यालयमा किटानी जाहेरी दिएको लामो समय बितिसक्दासमेत कोहलपुर प्रहरीले घटनालाई गम्भीर रूपमा नलिएको पीडित पक्षले गुनासो गरेको छ ।

गत पुस १३ गते साँझ ६ बजेको समयमा कोहलपुर नगरपालिका-१४ हवल्दारपुुर चोकमा दुई पक्षबीच झडप भएको थियो । उक्त स्थानमा काठको आरा मिल सञ्चालन गर्दै आएका सञ्चालक र कामदारबीच पैसाका विषयमा विवाद भएको थियो । जाहेरीमा उल्लेख भए अनुसार मिलमा काम गर्ने कामदारलाई सञ्चालकले ५ हजार रूपैयाँ दिनुपर्ने थियो । सोही अनुसार सञ्चालकले मोबाइल बैंकिङ भुक्तानी गर्ने भनेका थिए ।

सञ्चालकले त्यसो भनेपछि त्यहाँ काम गरेका हरिहर खटिकले आफ्नो भाइलाई फोन गरे । उनका भाइले आफूहरूलाई अपशब्द प्रयोग गरी नगद नै चाहिन्छ भनेर अड्डी कसेको जाहेरीमा उल्लेख छ । खटिकका भाइले मिलका कर्मचारी विजय परियारले समेत फोन गरेरै नगद नभएको र मोबाइल बैंकिङमार्फत हरि खटिकलाई दिने बताए पनि लगत्तै ७-८ जनाको समूह आएर घेरा हालेर आफूले बोकेर ल्याएका र त्यहाँ रहेका इट्टा र घरेलु हतियारले सांघातिक आक्रमण गरिएको जनाइएको छ ।

उनीहरूको आक्रमणबाट जनकराज हमालको टाउको अनुहार, हात, औँला र शरीरका अन्य भागमा समेत चोट लाग्नुका साथै अंगभंग भएको छ । उदयराज हमालको टाउको र शरीर, विजय परियारको ढाड, खुट्टा र छाती, शंकर थापाको हात, खुट्टा, कृष्ण चौधरीको हात, खुट्टामा चोट लाग्नुका साथै शरीरका बाहिरी र भित्री भागमा चोट लागेर रगताम्य भएको छ । उनीहरूमध्ये जनकराज हमाल गम्भीर घाइते भएका थिए ।

उनलाई चार दिनसम्म आईसीयूमा राखेर उपचार भएको थियो । उक्त टोलीले उदयराज हमालसँग रहेको नगद ५ लाख लुटेर लगेको र तीन वटा मोबाइलमा समेत क्षति पुगेको बताइएको छ ।

जाहेरीमा ज्यानै लिने मनसायका साथ गरिएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गरी मुलुकी संहिता २०७४ को ज्यानसम्बन्धी दफा १८३ अनुसार कारबाही माग गर्दै घाइतेहरूको उपचारमा लागेको सम्पूर्ण खर्चसहित बिगो माग गरिएको छ । तर जाहेरी दिएको महिना दिन पुग्न लाग्दा समेत कोहलपुर प्रहरीले घटनामा संलग्न भएका कसैलाई पक्राउ गरेको छैन ।

कोहलपुर प्रहरीले स्थानीय नेताहरूको दबाबमा गम्भीर प्रकृतिको घटनालाई सामान्यीकरण गरेको पीडित पक्षले गुुनासो गरेका छन । किटानी जाहेरीपछि पटक–पटक प्रहरीलाई घटनाका आरोपीमाथि कारबाहीको माग गर्दा पनि बेवास्ता गरिएको पीडित पक्षका आफन्तले बताए । घटना घटेको दिन पुस १३ गते राति नै घटनाको आवश्यक अनुसन्धानका लागि ठाडो निवेदन दिएको र पुुस २२ गते किटानी जाहेरी समेत पिडित पक्षको भनाई छ ।

‘घटनामा चार जना गम्भीर घाइते भएका छन् । आईसीयूूमा राखेर उपचार गरियो । हात भाँचिएका छन् । टाउको फुटेको छ । शरीरभरि चोटैचोट छन् । यस्तो घटनामा प्रहरीले गम्भीरता देखाउनुपर्ने हो,’ घटनामा घाईते भएका जनक हमालले भने , ‘तर देखाइरहको छैन ।’

कोहलपुर प्रहरीले स्थानीय पार्टीका नेताको दबाबमा पीडितलाई झन् पीडा दिने काम गरेको उनले आरोप लगाए । यस घटनाका दोषीलाई कानुुनी दायरामा ल्याएर कारबाही गर्न बारम्बार माग गर्दासमेत सुनुवाइ हुन नसकेको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा पीडित पक्षका तर्फबाट कोहलपुर-६ रझेनाका उदयराज हमाल, कोहलपुर-१ कौशिलानगरका विजय परियार, कोहलपुर-१२ चप्परगौडीका शंकर थापा, बैजनाथ गाउँपालिका-३ का कृष्ण चौधरीले सात जनाको नाममा ज्यान मार्ने उद्योगको कसुरमा कारकाहीको माग गर्दै किटानी जाहेरी दिएका छन् ।

उनीहरूले कोहलपुुर-१४ का सुरेन्द्र खटिक, छविले खटिक, हरिहर खटिक, ओमप्रकाश खटिक, ढबला खटिक र राम थारूको नाममा किटानी जाहेरी दिएका हुन् । ज्यान मार्ने उद्योगजस्तो घटनाको सम्बन्धमा पीडितले किटानी जाहेरी दर्ता गरिसकेपछि पनि पीडितलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्नुपर्ने प्रहरीको भूमिकामाथि नै पीडित पक्षले प्रश्न उठाएका छन् ।

‘मान्छेलाई त्यसरी कुटपिट गरिएको छ । मान्छेहरू मर्ने अवस्थामा छन् । प्रहरीले पीडितको माग सुनुवाइमा गम्भीरता देखाएन । यतिका दिन हुँदासमेत पीडक खुलेयाम हिँडिरहेका छन् । हामीलाई झन अन्याय भयो,’ हमालले भने ।

घटनाका विषयमा बुझ्दा इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक रेशम पौडेलले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताए । उनका अनुसार पीडित पक्षले किटानी जाहेरी दिएको छ । जाहेरीका सम्बन्धमा प्रहरीले कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।

‘मुद्दा दर्ता भएको छ । हामीले प्रक्रियागत रूपमा काम गरिरहेका छौँ,’ उनले भने, ‘बाँके जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । हामीले काम गरिरहेका छौँ ।’ किटानी जाहेरी दिँदासमेत पक्राउ गर्न प्रहरीले किन ढिला गरेको भन्ने प्रश्नमा उनले टोली परिचालन भएको र छिट्टै पक्राउ गरी आवश्यक कारबाही अघि बढ्ने बताए । पक्राउ पुर्जी जारी भएकाहरूलाई प्रहरीले खोजिरहेको उनको भनाइ छ ।

  • ७ माघ २०८१, सोमबार १७:४७ प्रकाशित
  • Nabintech