२ माघ, कोहलपुर । कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय तोकिएका बाँकेका एक ब्यक्ती १४ वर्षपछि पक्राउ परेका छन ।
जिल्ला अदालत, बाँकेको मिति २०७३ पुस १८ गतेको फौसला अनुसार जन्मकैदको सजाए तोकिएका बाँकेको साबिक महादेवपुरी-५ हाल राप्तिसोनारी गाँउपालिका वडा नं. ९ बस्ने ३० वर्षका धन बहादुर थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय तोकिएकोमा उनी हालसम्म फरार रहँदै आएका थिए । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले थारुलाई बुधबार नियन्त्रणमा लिएको हो ।
ईप्रका कोहलपुरका अनुसार थारुले २०६७ असार ३२ गते राती १०:३० बजे कोहलपुर नगरपालिका ६ (साविक कोनपा ५) बस्ने पूर्ण बहादुर डाँगीको धारीलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
उक्त घटनामा बाँके जिल्ला अदालतले थारुलाई सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो ।
२ माघ २०८१, बुधबार १६:०६ प्रकाशित