बाँकेकाे फत्तेपुरमा सडक दुर्घटना हुँदा दुइकाे मृत्यु
  • काँचुली खबर

२ माघ, काेहलपुर । बाँकेमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लास्थित राप्तीसोनारी-७ फत्तेपुर सर्रामा मङ्गलबार साँझ सात बजेतिर नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगन्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको थियो ।

बसमा मोटरसाइकल ठोक्किँएर गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्तीसोनारी-७ फत्तेपुर सर्राका २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा पछाडि सवार सोही स्थानकै २३ वर्षीय राजेश थारुको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक नन्द प्रसाद पोखरेलले बताए ।

उनका अनुसार बस चालक फरार भएका छन । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि दुई दिन पहिले पनि बाँकेको कुसुमनजिक ट्याङ्कर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार कैलालीका दुई जनाको मृत्यु भएको थियो ।

तीव्र गतिका कारण दुर्घटना वृद्धि भएको जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मौसम र गतिलाई ध्यानमा दिएर सवारी साधन चलाउन सबैसँग अनुरोध गरको छ ।

  • २ माघ २०८१, बुधबार ०९:३३ प्रकाशित
  • Nabintech