१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले लज्जास्पद हार ब्यहोरेको छ । आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पोखरा ८७ रनले पराजित भएको हो ।
तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो ।
सुरुवाती ७ रनमै पोखराले ६ विकेट गुमाएको थियो । पोखराका कप्तान तथा ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । पहिलो ओभरको पाचौं बलमा दिलिप नाथ ४ र अन्तिम बलमा बास डे लिड शुन्य रनमा आउट भए ।
पोखराकालागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । म्याट क्रिटलेले १७ रन जोडे ।
पोखरालाई अलआउट गर्न चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए ।
त्यसअघि ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको चितवनले मंगलबार पोखरा एभेन्जर्सलाई ८७ रनले रनले पराजित गरेको हो ।
१८ मंसिर २०८१, मंगलवार १६:०५ प्रकाशित