कालापत्थरको ढुंगा जडित एनपीएलको ट्रफी सार्वजनिक
  • काँचुली खबर

१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ ।

एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए । यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको उनले बताए ।

आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा ल्याएका थिए । ट्रफी अनावरण कार्यक्रममा उनीहरुलाई खादा ओढाएर सम्मानसमेत गरिएको छ ।

अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए ।

एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’

एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि सुरु भई पुस ६ गते सम्पन्न हुने छ ।

  • १० मंसिर २०८१, सोमबार १२:३२ प्रकाशित
  • Nabintech