९ मंसिर, काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको केन्द्रीय संरचना फेरबदल गर्न लागेका छन् । पार्टी उच्च स्रोतका अनुसार दुई कार्यकाल उपराष्ट्रपति भएका नन्दबहादुर पुन ‘पासाङ’ लाई उपाध्यक्ष बनाउने दाहालले तयारी गरेका छन् । पुनलाई पार्टीमा फर्काएर उपाध्यक्ष बनाउने दाहालले तयारी गरेका बताइन्छ ।
उपराष्ट्रपतिबाट हटेपछि पुन माओवादी पदाधिकारी बैठकमा पनि सहभागी भएका छन् । कात्तिक २५ गते बसेको पदाधिकारी बैठकमा पुन सहभागी भएर आफू फेरि राजनीतिमा आउन लागेको संकेत गरेका हुन् । पुन २०७२ कात्तिक १३ गते देखि २०७९ चैत ६ सम्म उपराष्ट्रपति भएका थिए ।
माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले पदाधिकारी बैठकमा पुन सहभागी भएको पुष्टि गरे । बैठक अघि अध्यक्ष दाहालले पुनलाई भेटेर उपाध्यक्ष बनाउने आश्वासनसहित बैठकमा बोलाएका थिए ।
सभामुखको कार्यकाल सकिएपछि अग्नि सापकोटा माओवादीको उपाध्यक्ष बनेर राजनीतिमा सक्रिय भएका छन् । स्रोतका अनुसार दाहालले दिएको आश्वासन पूरा भए पुन उपाध्यक्ष बन्न तयार छन् ।
स्रोतका अनुसार पुनका निकटहरूले पनि राजनीतिमा सक्रिय हुन सुझाव दिएका छन् । उपाध्यक्ष बनाउने दाहालको प्रस्तावबारे पुनले आफूनिकटहरूसँग छलफल गरिरहेका छन् ।
पुनलाई पार्टीमा पुनः फर्काएर अध्यक्ष दाहालले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा उपमहासचिवहरू वर्षमान पुन र जर्नादन शर्मालाई साइजमा राख्न खोजेका छन् । गत साउनमा उपमहासचिव शर्माले दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्नेसहितका प्रस्ताव अघि सारेका थिए । त्यसमा अर्का उपमहासचिव पुनको पनि सर्मथन थियो ।
त्यो प्रस्तावपछि पार्टीमा चुनौती ठानेका दाहालले माओवादी छाडेर गएका नेत्रविक्रम चन्द ‘विप्लव’, डा. बाबुराम भट्टराईबाट अलग भएका महिन्द्र राय यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल लगायतसँग तत्काल एकताको प्रस्ताव गरेका थिए ।
पुस २ गते माओवादीको केन्द्रीय समिति बैठक बस्दैछ । त्यस बैठकमा शर्माको प्रस्तावमाथि छलफल हुने वा नहुने निश्चित छैन । तर, दाहालले आफूमाथि आउन सक्ने चुनौतीलाई मत्थर पार्न विप्लवसहित यादवसँग पार्टी एकता र पुनलाई पार्टीमा सक्रिय बनाउन खोजेको स्रोतले बतायो ।
अध्यक्ष दाहालले आफूलाई सहयोग गर्ने गरी मात्रै पुनलाई सक्रिय गराउने तयारीमा छन् । पुन कुनै बेला दाहालका नजिकका सहयोगी थिए । दाहाल माओवादीको लडाकु संगठन जनमुक्ति सेनाको सर्वोच्च कमान्डर हुँदा पुन कमान्डर थिए ।
शान्ति प्रक्रियासम्म आएपछि पुन जनमुक्ति सेनाको डेपुटी कमान्डर बनेका थिए । उनीसँगै जनार्दन शर्मा, वर्षमान पुन र चन्द्रप्रकाश खनाल पनि डेपुटी कमान्डर बनेका थिए ।
सेना समायोजन भएपछि २०७० को दोस्रो संविधान सभा चुनावमा पुन काठमाडौँ-४ बाट संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापासँग पराजित भए । त्यसपछि दाहालको जोडबलमै उनी दुई कार्यकाल उपराष्ट्रपति बने ।
उपराष्ट्रपति हुँदा पनि दाहालसँग उनको सम्बन्ध समधुर नै थियो ।
अमिकलाई वरिष्ठ उपाध्यक्ष
यसैगरी आफू निकट रहेर काम गरेका अमिक शेरचनलाई अध्यक्ष दाहालले वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेका छन् । स्रोतका अनुसार दाहालले पार्टीको राजनीतिमा पुनः सक्रिय हुन शेरचनलाई प्रस्ताव पठाएका हुन् । प्रस्तावमा उनलाई वरिष्ठ उपाध्यक्ष बनाउने भनिएको छ ।
तर शेरचनले अहिलेसम्म आफूसमक्ष कुनै प्रस्ताव नआएको बताउने गरेका छन । ‘प्रस्ताव आए सकारात्मक रूपमै लिन्छु होला’, उनले भने । शेरचन गण्डकी र लुम्बिनी प्रदेशका पूर्वप्रमुख हुन् । शेरचन २०६२ सालको जनआन्दोलन गरेका सातदलीय गठबन्धनको एउटा घटक जनमोर्चाको अध्यक्ष थिए ।
जनआन्दोलन सफल भएपछि उनको दल र नेकपा माओवादीबीच २०६५ सालमा एकीकरण भएको थियो । त्यतिबेला पनि अध्यक्ष दाहालले उनलाई उपाध्यक्ष बन्न प्रस्ताव गरे थिए तर उनले अस्वीकार गरेका थिए । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए ।
९ मंसिर २०८१, आईतवार १६:०३ प्रकाशित