कोहलपुरमा पिल्स प्रयोगकर्ताको सँख्या उच्च, शुक्रबार हुन्छ बढी खपत
  • काँचुली खबर

५ मंसिर, कोहलपुर । बाँकेको कोहलपुरमा आकस्मिक गर्भनिरोधक इसिपी (इमरजेन्सी कन्ट्रासेप्टी पिल्स) को प्रयोग बढ्दै गएको छ । महिलालाई असुरक्षित यौन सम्पर्क भएको वा साधन असफल भएको अवस्थामा (जस्तैः कण्डम फुट्नु, पिल्स खान विर्सनु आदि) केही समय वा दिनभित्र प्रयोग गरेमा गर्भ रहनबाट इमरजेन्सी कन्ट्रासेप्टी पिल्सले बचाउँछ । असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टा (३ दिन) भित्र गर्भ रहन नदिनको लागि प्रयोग गरिने चक्कीलाई पिल्स भनिन्छ ।

कोहलपुरका मेडिकलहरुबाट इसिपी (पिल्स) प्रयोग गर्नेको संख्या अस्वभाविक देखिएको छ । कोहलपुर नगरपालिका स्वास्थ्य शाखाले नगरक्षेत्रका करिव डेढ दर्जन मेडिकलहरुमा गरेको अनुगमनका क्रममा स्वास्थ्य संस्थामा निःशुल्क पाइने पिल्स मेडिकलबाट पैसा तिरेर प्रयोग गर्नेको संख्या अस्वभाविक देखिएको हो ।

मेडिकलहरुबाट प्रति चक्की ८० रुपैयाँसम्ममा किनेको पाइएको छ । एउटा मेडिकलबाट दैनिक १५ देखि २० वटासम्म इसिपी खपत भइरहेको छ । विशेषगरी शुक्रबार यसको खपत बढी भएको पाइएको छ । इमरजेन्सी कन्ट्रासेप्टी महिलाका लागि भएकाले किन्न पनि महिलाहरुले बढी आउने गरेको मेडिकल संचालकहरु बताउँछन् ।

‘इमरजेन्सी कन्ट्रासेप्टी चाहियो भन्दै आउनेको संख्या महिलाहरु नै बढी हुन्छन् एक जना मेडिकल संचालकले भने, ‘कलेजमा अध्ययन गर्नेहरु अझ धेरै आउने गरेको पाइन्छ ।’

कोहलपुर नगरपालिका मातहत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा पिल्स निःशुल्क पाइने कोहलपुर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कोहलपुर नगर अस्पतालसँगै कोहलपुर नगरपालिकाका पन्ध्र वटै वडामा आकस्मिक गर्भ निरोधको प्रयोगकालागि पिल्स निःशुल्क वितरणको काम भइरहेको शाखाले जनाएको छ । तर स्वास्थ्य संस्थाबाट यो सेवा लिनेको संख्या भने निकै न्यून रहेको शाखाकी सिनियर अनमी लोकमाया भारती बताउँछिन् ।

‘धेरैलाई इसिपी स्वास्थ्य संस्थामा पाइन्छ की पाइदैन भन्ने जानकारी पनि नभएको हुन सक्छ उनी भन्छिन्, ‘भएर पनि लाज मान्ने प्रवृत्तिले नआएको पनि हुन सक्छ ।’

आकस्मिक अवस्थामा मात्र गर्न सकिने भएपनि इमरजेन्सी कन्ट्रासेप्टीको प्रयोग भने अहिले जथाभावी रुपमा भइरहदा स्वास्थ्यमा समेत गम्भीर असर पर्ने चिकित्सकहरु बताउँछन् ।

कोहलपुर नगरपालिका तथा वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट इमरजेन्सी कन्ट्रासेप्टी पिल्स गोपनियतालाई समेत ध्यान दिएर वितरण गर्ने गरिएको भारतीले बताइन् । उनका अनुसार उमेर मात्रै उल्लेख गरेर स्वास्थ्य संस्थाबाट निःशुल्क इमरजेन्सी कन्ट्रासेप्टी पिल्स लिन सकिने बताइन् ।

यदि कुनै महिला पहिले नै गर्भवती भईसकेकी छिन् भने आकस्मिक गर्भनिरोधको साधन प्रयोग गर्न नहुने उनको भनाइ छ । आकस्मिक गर्भनिरोधको साधनलाई नियमित गर्भनिरोधको साधनको रुपमा प्रयोग गर्न नहुने भन्दै उनले आकस्मिक गर्भनिरोधले यौन अंगको संक्रमण र एच.आई.भी. एड्सबाट नजोगाउने पनि प्रष्ट पारिन् ।
स्वास्थ्यपेजबाट

  • ५ मंसिर २०८१, बुधबार १३:३० प्रकाशित
  • Nabintech