कर्णाली राजमार्ग : जमुनाहबाट सुरु, हिल्ला पुगेर अन्त्य
  • काँचुली खबर

२३ कात्तिक, कोहलपुर । यसअघि सुर्खेतको बाँगेशीमलबाट शुरु भएर जुम्ला सदरमुकाम गएर टुंगिएको २३२ किलोमिटर कर्णाली राजमार्गको रुट परिवर्तन गरिएको छ । कालिकोटको खुलाल-बाजुरा-सिमकोट-हिल्सा सडक कर्णाली करीडोर र कोहलपुर-छिन्चु (वीरेन्द्रनगर)-सुर्खेत रत्न राजमार्ग कायम थियो । पाँच वर्ष अघि सडकहरुको सूची पुनः वर्गिकरण गर्दा कर्णाली करीडोर र रत्न राजमार्ग हटाएर कर्णाली राजमार्ग कायम गरिएको हो ।

अब कर्णाली राजमार्गको शुरुवात विन्दु बाँकेको नेपाल भारत सीमाना जमुनाहबाट शुरु भएर नेपाल-चीन सीमाना हिल्सा पुगेर सकिनेछ । कर्णाली राजमार्गको रुट बाँकेको जमुनाह-नेपालगञ्ज-कोहलपुर-सुर्खेत, दैलेख-कालिकोट (खुलालु)-बाजुरा, सिमकोट-हिल्सा ५३८ किलोमिटर कायम गरिएको छ ।

जुम्ला सदरमुकाम जोडिएको कर्णाली राजमार्ग हटाएर अब सुर्खेत-तल्लो डुंगेश्वर, सातखम्ब-दुल्लु पिपलकोट, खुलालु-मान्म-नाग्म-जुम्ला सडक कायम गरिएको छ । यो सडकको दुरी १६८ किलोमिटर छ ।

कर्णाली राजमार्ग राष्ट्रिय राजमार्ग ५८ र भेरी करीडोर ५७ नम्बरमा छ । छिन्चु-जाजरकोट-दुनै-मरिम ३१७ किलोमिटर सडकलाई भेरी करीडोर बनाइएको छ ।

‘क’ आधारमा राखिएका यी दुवै सडक कर्णाली प्रदेशका लागि रणनीतिक महत्व भएका सडक हुन् । दुवै सडकले सिधा चीन-भारत जोड्छन् । चीनसँग जोडिने तेस्रो सडक मुगुको नाक्चेनाग्ला हो ।

३०२ किलोमिटर सडक सुर्खेतबाट शुरु भएर दैलेख, महावुलेक-गाल्जे, नाग्म-गमगढीहुँदै चाक्चेनाग्ला जोडिन्छ । सल्यानको थारमारे सुरुवाती विन्दु मानिएको रारा राजमार्ग कायम गरिएको छ । २६३ किलोमिटर दुरी रहेको सडक थारमारे-चौरजहारी, जाजरकोट खलंगा-जुम्ला कुडारी हुँदै मुगुको रारा तालसम्म जोडिनेछ ।

मुगुको छायल बजारदेखि अगाडीसम्म ट्र्याक खोलिएको यो सडकको चीन सीमानासम्म जोड्ने सडक अधुरै छ । लुम्बिनी प्रदेशमा १२ सडक प्रदेश लोकमार्ग र तीन सडक स्थानीय सडक कायम गरिएको छ । कर्णालीमा तीन सडक प्रदेश, एक स्थानीय र सदूरपश्चिम प्रदेशमा आठ सडक प्रदेश लोकमार्ग बनाइएको छ ।

  • २३ कार्तिक २०८१, शुक्रबार १६:३४ प्रकाशित
  • Nabintech