बाँकेमा १० हजार लागूऔषध प्रयोगकर्ता भएकाे अनुमान
  • काँचुली खबर

विभिन्न समयमा बरामद गरीएका लागूऔषध नष्ट गर्दै काेहलपुर प्रहरी । फाईल तस्बिर

१९ कात्तिक, नेपालगन्ज । भारतीय सीमासँग जोडिएको बाँकेमा करिब १० हजार लागूऔषध प्रयोगकर्ता रहेको लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घले जनाएको छ ।

लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घका संयोजक रमेशकाजी महर्जनका अनुसार बाँके जिल्लामा लागूऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको बताए ।

उनले जिल्लामा हाल करिब १० हजार लागूऔषध प्रयोगकर्ता रहेको जनाउँदै तीमध्ये एक हजार पाँच सय जति महिला प्रयोगकर्ता रहेको अनुमान गरिएको बताए ।

जिल्लामा लागूऔषध न्यूनीकरणका लागि २० वटा पुनःस्थापना केन्द्र स्थापना गरिएका छन् भने तीमध्ये दुई महिला पुनःस्थापना केन्द्र छन् ।

लागूऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीले पछिल्लोपटक लागूपदार्थ प्रयोगको स्वरुप समेत परिवर्तन भएकोले अवस्था थप चुनौतीपूर्ण बन्दै गएको बताए ।

विगतमा धुवाँका रूपमा प्रयोग हुने ब्राउनसुगर अहिले तरल बनाएर सुईको माध्यमबाट प्रयोग हुने गरेको पाइएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागूऔषध नियन्त्रणका लागि जिल्लामा  विभिन्न अभियान सञ्चालन हुँदै आएको छ । सो कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रहरी कार्यालयमा लागूऔषधका १७७ मुद्दा दर्ता भएका थिए । लागूऔषधमा संलग्न २६४ लाई पक्राउ गरी ९२५ ग्राम ब्राउनसुगर नियन्त्रणमा लिइएको थियो ।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले लागूऔषध नियन्त्रणका लागि सीमापार भारतीय सुरक्षा निकायसँग समन्वय गर्नेदेखि गाउँ-गाउँमा चेतनामूलक कार्यक्रमलाई अघि बढाइएको बताए ।
गाेरखापत्रबाट

  • १९ कार्तिक २०८१, सोमबार ०९:४३ प्रकाशित
  • Nabintech