११ कात्तिक, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-८ स्थित एमपी स्कुल रोडमा कसगर समुदायको बाक्लो बसोबास छ । पुर्ख्यौली रुपमा माटोका भाँडा बनाउने र विक्री गर्ने पेशा अङ्गाल्दै आएको यो समुदाय पछिल्लो समय भने सन्तुष्ट देखिँदैन । प्लास्टिक र फाइबरका भाँडाले बजार ओगटेपछि पेट पाल्नै सङ्घर्ष गरिरहेको उनीहरू बताउँछन् । यो बस्तीमा ३०-३५ घरपरिवारको गुजारा नै यही पेशा हो । तर, अफसिजनमा मजदुरी नगरे खानै नपुग्ने अवस्था छ ।
पप्पु कसगर कालीगढ पनि हुन । सिजनमा माटोका भाँडा बनाउन उहाँलाई भ्याइनभ्याई हुन्छ । वर्षमा चार महिना मात्र भाँडा बनाउन सकिने पप्पु बताउँछन । ‘चैत-वैशाख र असोज-कार्तिकमा मात्र भाँडा बनाउन सकिन्छ’ पप्पुले भने, ‘चिसो समय र बर्खामा सम्भव नै छैन ।’ उनले बनाएका भाँडा सुर्खेत, दाङ, जाजरकोटसम्म पुग्छन् । तर, मेहनत अनुसारको कमाई नभएको पप्पुको गुनासो छ ।
अहिले दीपावलीका कारण पप्पुको व्यस्तता भने केही बढेको छ । तर, उत्साह विगतको जस्तो छैन । अहिले पाला, खुत्रुके, कलश, भुर्कीको फाट्टफुट्ट अर्डर आइरहेको छ । बिहान ६ बजेदेखि राती ९ बजेसम्म उनी भाँडा बनाउँछन । तर, पछिल्लो समय विक्री नै निकै कम हुन थालेपछि उनी चिन्तित छन ।
तिहारको मुखमा उत्साहित देखिनुपर्ने शेरु कसगर पनि निराश मुद्रामा भेटिए । ४०-५० वर्षदेखि गर्दै आएको कर्मले खान लाउन समेत नपुग्ने अवस्था आएपछि शेरु उदास छन । पहिलेपहिले माटो पनि निःशुल्क पाइने गरेकोमा अहिले एक टेक्टर ट्रलीको ८ हजार रुपैयाँ पर्दछ । माटोमा पनि स्थानीय सरकारले सहजीकरण गरिदिए सजिलो हुने उनीहरू सुनाउँछन् । सरकारले आफूहरूको पेशा सङ्कटमा परिरहँदा समेत वास्ता नगरेको कसगर समुदायको गुनासो छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले नेपालगन्जमा माटोका भाँडा बनाएर विक्री गर्दै आइरहेका कसगर र कुमाल समुदायको आर्थिक उपार्जनको पाटोलाई मजबुत बनाउने नीति लिएको बताए । यसै आर्थिक वर्षमै केही घरपरिवारलाई छनौट गरेर रु. ५० हजार बराबरको भाँडा बनाउने मेसिन सहयोग गर्ने तयारीमा रहेको उनको भनाई छ ।
११ कार्तिक २०८१, आईतवार १७:३१ प्रकाशित