दाङकी उर्मिला चौधरी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
  • काँचुली खबर

६ कात्तिक, काठमाण्डौं । साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।

अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको सन् २०२४ को ‘ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन्स अवार्ड’ कमलरी अभियन्ता उर्मिला चौधरीले पाएकी छिन्।

अमेरिकामा सोमबार आयोजित एक कार्यक्रममा अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले चौधरीलाई अवार्डबाट सम्मान गरे।

चौधरी सहित विभिन्न देशका ६ जना अभियन्ताले अवार्ड पाएका हुन्। अवार्ड पाउने अन्यमा घानाका दिन्ताइ सुल ताइरु, नेदरल्यान्ड्सका जोन लीरड्याम, उत्तर म्यासेडोनियाका एल्भिस शाकजिरी, मेक्सिकोकी तान्या दुआर्त र बोलिभियाकी तोमासा यार्हुइ ज्याकोम छन्।

यो अवार्ड गत वर्ष नेपालकै सरस्वती नेपालीले पाएकी थिइन्। सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा सीमान्तकृत जाति, अपांगता भएका व्यक्ति र गरिबहरूको मानव अधिकारका लागि काम गरे वापत उनलाई अवार्ड दिइएको थियो।

अमेरिकी सरकारले सन् २०२३ मा स्थापना गरेको यो अवार्ड विश्वव्यापी रूपमा नागरिक समाजका व्यक्तिहरूलाई उनीहरूले गरेको उदाहरणीय र साहसिक कार्यका लागि दिइन्छ।

बाल्यकालमा आफैं कमलरी रहेकी चौधरीलाई कमलरी प्रथा उन्मुलन, जातीय समानता, न्याय र मानव अधिकारको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै यो अवार्ड दिइएको हो।

“अवार्डले मलाई विपन्न र पछाडि पारिएका समुदायका बालबालिकाका लागि काम गर्न थप हौसला दिएको छ,” अमेरिकाबाट कुरा गर्दै उनले भनिन्, “यो अवार्ड म सम्पूर्ण नेपाली तथा मसँगै उद्धार भएका र कमलरी प्रथा उन्मुलनमा सहयात्रा गरेका सम्पूर्ण साथीलाई समर्पण गर्छु।”

विश्वकै शक्तिशाली देशले दिने अवार्ड पाउनु गौरवको कुरा भए पनि न्याय र समानताका लागि अझै धेरै काम गर्न बाँकी नै रहेको बताइन्। “सयौं मुक्त कमलरीको पुनर्स्थापना हुन सकेको छैन, उनीहरूको पुनर्स्थापना, न्याय र समानताका लागि लड्नु छ,” उनले भनिन्।

काठमाडौं स्कूल अफ ल मा बीए एलएलबी अध्ययनरत चौधरीले पढाइ पूरा भएपछि आफू जस्तै विपन्न परिवारका बालबालिकालाई कानूनी सहायता दिने लक्ष्य रहेको सुनाइन्। “जसरी म दुःख-पीडाबाट संघर्ष गरेर यहाँसम्म आएँ, म जस्तै कष्टपूर्ण जीवन बिताइरहेका कैयौं बालिकाको साथी बनेर काम गर्न चाहन्छु,” उनले भनिन्।

कमलरी प्रथा उन्मूलनमा महत्त्वपूर्ण योगदान पुर्‍याए वापत चौधरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै अवार्ड पाएकी छन्। ६ वर्षअघि नेदरल्यान्ड्सले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’ बाट  सम्मानित गरेको थियो। प्रत्येक दुई वर्षमा प्रदान गरिने यो अवार्ड यसअघि पाकिस्तानकी बाल अधिकार कार्यकर्ता मलाला युसुफजाई, आङ सान सुची, हुसेन इब्राहिम सलेह अल जस्ता व्यक्तिले पाएका थिए।

अहिलेसम्म उनले ६ वटा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेकी छन्। संयुक्त राष्ट्र संघको यूथ करेज अवार्ड फर एजुकेशन, इन्टरन्याशनल ह्युमन राइट्स अवार्ड पनि उनले पाएकी छन्।

को हुन् उर्मिला चौधरी ?

दाङको गढवा गाउँपालिका-७ मानपुर निवासी फुलट चौधरी र खलसी चौधरीकी छोरी हुन्, उर्मिला। उनका तीन दाजु, एक दिदी र एक भाइ छन्।

आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले जमीनदारको जग्गा अधियाँ लिएर जीविका चलाउने गथ्र्यो। अधियाँ गरे वापत साहुको घरमा बधुवा कामदारका रूपमा कमैया र कमलरी बस्नुपथ्र्यो।

साहुको घरमा कमलरी राख्न उर्मिलालाई ६ वर्षकै उमेरमा काठमाडौं लगियो। कापी-कलम बोकेर स्कूल जाने उमेरमा उनको हातमा भाँडाकुँडा थमाइयो। उनले भाँडा माझ्ने, लुगा धुने र घरको सरसफाइ गर्ने काम गर्नुपथ्र्यो।

घरमा आफूले खाएको भाँडा पनि माझ्न नसक्ने उनका लागि मालिकको घरको काम ठूलै बोझ बन्यो। “मेरो भाग्यमा यस्तै लेखिएको रहेछ भन्ने सोच्थें,” उर्मिला त्यो समय सम्झिन्छिन्।

त्यसको केही वर्षपछि गैरसरकारी संस्था स्वान नेपाल र एफएनसीले दाङमा कमलरी उन्मूलनको अभियान शुरू ग¥यो। गाउँबाट शुरू भएको अभियान शहरमा पनि पुग्यो। पश्चिम तराईका जिल्लाबाट चलेको अभियान काठमाडौं पुग्यो। त्यही अभियानका क्रममा साढे ११ वर्षको कमलरी जीवनपछि उनले २०६३ माघ १ गते यसबाट मुक्ति पाइन्।

  • ६ कार्तिक २०८१, मंगलवार १३:५९ प्रकाशित
  • Nabintech