ड्रागन खेतीमा रमाउँदै जानकीका कमल
  • काँचुली खबर

२२ साउन, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा पनि व्यावसायिक ड्रागन फ्रुटको खेती गर्न थालिएको छ । पछिल्लो समय युवा पुस्ताले कृषिलाई त्यति महत्व नदिए पनि केही युवाहरूले भने कृषिमै भविष्य खोज्न थालेका छन् ।

जानकी गाउँपालिका वडा नम्बर-४ का कमल बहादुर रानाले ३ वर्ष पहिला जानकी नहर चोक नजिकै आफ्नै १० कठ्ठा जमिनमा स्मृति ड्रागन फ्रुटको फर्म सञ्चालनमा ल्याई व्यावसायिक खेती गर्दे आएका छन । झण्डै २२ लाख जति लगानी लागेको जनाउँदै रानाले आफूले समूहबाट ऋण लिएर एक्लै खेती सुरु गरेको बताए । धेरैले कृषि खेती गरेको देख्दा आफूले पनि ड्रागन फ्रुटको खेती सफल होला भनेर सुरु गरेको रानाको भनाई छ । विदेश जाने मोह त्यागेर ड्रागन खेतीमा लागेका उनी सन्तुष्ट देखिन्छन ।

सरकारबाट केही सहयोग हुन्छ कि भन्ने आफूले आशा र विश्वास लिएको तर अहिलेसम्म तीनै तहको सरकारबाट आफूलाई कुनै सहयोग नभएको उनको गुनासो छ । ड्रागन फ्रुटको खेती एकदमै राम्रो र बाह्रमासै हुने भएकाले युवाहरूलाई विदेश पनि जानु नपर्ने रानाले आफ्नो अनुभव सुनाए ।

कमलले खेती गरेकै ठाउँमा उपभोक्ताहरू ताजा फल किन्न पुग्ने गरेका छन् । खजुरामा आमालाई औषधि उपचार गराउन आएको समयमा जानकीमा ड्रागन फ्रुट बजारमा भन्दा सस्तो र ताजा पनि पाइन्छ भन्ने सुनेर आफू आएको कोहलपुरका अतुल बनवाले बताए । ड्रागन फ्रुट ताजा पनि खान पाउँदा स्वास्थ्यका लागि राम्रो भएको समेत उनको भनाई छ ।

रेडियो नेपालबाट

  • २२ आश्विन २०८१, मंगलवार १४:२७ प्रकाशित
  • Nabintech