पत्नीको बिकिनी लगाउने ईच्छा पुरा गर्न पतीले सिंगै टापु किनिदिए
  • काँचुली खबर

एजेन्सी । हुनत प्रेममा मानिसहरु आकाशको तारा नै झारिदिन्छु भन्न पछि पर्दैनन् । तर तारा झार्ने औकात कसको पो हुन्छ र ? प्रेममा तारा झार्ने सपना देखाउनेहरुले बिहेपछि बंगारा झार्ने गरेका घटना पनि देख्न र सुन्न पाइन्छ ।

तर आफ्नी पत्नीले ढुक्कसँग बिकिनी लगाउन पाउन् भनेर एउटा सिंगै टापु नै किनिदिने मायालु तथा मनकारी लोग्नेहरु पनि हुँदा रहेछन् यो दुनियाँमा । पत्नीको बिकिनी लगाउने इच्छा पूरा गरिदिन दुबइका एक व्यक्तिले निजी टापु नै खरीद गरिदिएको भन्दै चर्चा पाएको छ।

दुबइकी सोसल मिडिया सेलिब्रेटी सउदी अल नदाकको एउटा भिडियो अहिले इन्स्टाग्राममा भाइरल बनेको छ । २६ वर्षीया सउदीले आफ्ना अर्बपति लोग्ने जमाल अल नदाकले आफ्ना लागि हालै किनिदिएको एउटा निजी टापु भिडियोमा देखाएकी छिन् ।

उक्त भिडियोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘तपाईंले बिकिनी लगाउनु चाहनुहुन्छ अनि तपाईंको करोडपति श्रीमानले तपाईंका लागि एउटा टापु किनिदिन्छ ।’

बेलायतमा जन्मिएकी सउदी अल नदाकले दुबइका व्यापारी जमालसँग ३ वर्षअघि बिहे गरेकी हुन् । उनी एक गृहिणी हुन् । उनीहरुबीच दुबइमा कलेजमा पढ्दै गर्दा भेट भएर प्रेम बसेको थियो । प्रेम सम्बन्धमा रहँदै उनीहरु सोसल मिडियामा चर्चित थिए ।

नदाकले आफ्नो भव्य तथा खर्चालु जीवनशैली इन्स्टाग्राम तथा टिकटक जस्ता सोसल मिडिया प्लाटफर्ममा शेयर गर्ने गर्दछिन् ।

हालै उनले एकै दिनमा १० लाख डलरको हिराको औँठी र २० लाख डलरको कलाकृति खरीद गरेकी थिइन् ।

  • १९ आश्विन २०८१, शनिबार १०:२८ प्रकाशित
  • Nabintech