सहिद स्मृति केन्द्रको नवौँ साधारण सभा, एक अनुभुति
  • काँचुली खबर

मेरो स्वास्थ्यगत कारणले हामी परिवार बसिरहेको घरवास पाँच वर्षको लागि अन्य व्यवसायीलाई भाडामा दिएर काठमाण्डु तिर बसेको अवस्था हो । सहिद स्मृति केन्द्रको कार्यकारी अध्यक्ष म आफू रहेको र यसपालि सहिद स्मृति केन्द्रको नवौँ वार्षिक साधारण सभा सम्पन्न गर्नपर्ने भएकोले कोहलपुर आएको थिएँ । यहाँ आउँदा यहाँ आफ्नै घरगाउँको मौसमी वातावरणले तिन वर्ष पुग्दा नपुग्दै मलाई बिर्सीसकेको रहेछ क्यार ! गर्मीले निकै ततायो र सतायो । कार्यक्रम त जसरी भए पनि सम्पन्न गर्नु नै थियो । जसो तसो सम्पन्न गरियो पनि ।

यति बेला केन्द्रमा गत असार १७ गतेको नेपाली काँग्रेस र एमालेको गठबन्धन बनेपछि कोहलपुरका काँग्रेस-एमाले पार्टीद्वय आफ्ना पार्टी कार्यालय बनाउन खातिर आफ्ना अग्रज सुशील कोइराला र मदन भण्डारीको नाउँमा प्रतिष्ठानको नाममा नगरपालिकाबाट जग्गा प्राप्त गर्न तिर लागेका रहेछन् । उनीहरू माओवादी केन्द्रको (सहिद स्मृति भवन) छँदैछ । हामी दुई पार्टीलाई अमुक-अमुक ठाउँको जग्गा सिफारिस गराऊँ भनेर नगरपालिका तिर लागेको सूचना पाएपछि स्थानीय माओवादी केन्द्र र अन्य दलहरू विरुद्धमा उत्रेको स्थिति रहेछ । त्यही कार्यको निहुँमा संस्था केही विवादित हुन खोजेको थाहा पाएर केही दिन अगाडि संस्थाले https://ahutinews.xyz/khoj/742/ विज्ञप्ति पनि निकालेको थियो । मेरो विचारमा परिवर्तनको निम्ति जीवनभर लडेको पार्टीहरूले आफ्नो अग्रजको नाउँमा प्रतिष्ठान स्थापना गरेर दलको कार्यालय समेत जोड्न चाहनु नराम्रो होइन भन्ने मान्यता राख्नु बेठिक लाग्दैन । संसदीय व्यवस्थामा मत मतान्तर, पक्ष विपक्ष भइरहने हुनाले हाम्रो स्थानीय पार्टीले कतिपय सकारात्मक रूपमा लिनुपर्ने वा वेवास्ता गरेपनि हुने विषयमा विपक्षी भएकै कारणले विरोध गरिरहन हुन्नथ्यो भन्ने लागेकै थियो । झन यहाँ त आफ्नै संस्था माथि हिलो छ्याप्ने निहुँ बनेको मनपरेको थिएन पनि । तसर्थ मैले लगत्तै ‘राष्ट्रिय र अन्तराष्ट्रिय प्रचलन समेत स्मरण गराउँदै परिवर्तनको निमित्त आन्दोलनको अगुवाइ गरेका पार्टीहरूको कमान्डमा प्रतिष्ठान रहनु त्यस निम्ति जग्गा प्राप्त गर्न खोज्नु नराम्रो होइन, त्यो त कोहलपुरकै प्रतिष्ठाको विषय पनि हो’ भन्ने कोणबाट मैले लेखेको https://kanchulikhabar.com/news/72033/ आर्टिकललाई लिएर भित्रभित्र विविध खाले चर्चा डाहा र ईर्ष्या मौलाएको पाईयो । विपक्षको रूपमा देखिएकाहरू (जगा प्राप्त गर्न लागेकाहरू) भित्र हामीलाई भ्रम दिएर डबल फाइदा लिने माओवादी दाउको रूपमा ब्याख्या गरेको सुनिन्थ्यो । माओवादी केन्द्रको एउटा पंक्ति हाम्रो आफ्नै नेता भएर पनि हाम्रै आन्दोलन कम्जोर पार्ने अभिव्यक्ति दिएको भन्ठानेर गमक्क परेको थियो । सँगसँगै मओवादी केन्द्र कै केही साथीहरू सहिद परिवारको संस्था भन्ने तर कार्यसमितिमा सहिद परिवार बाहीरका मानिस राख्ने ! भनेर टिप्पणी गर्थे । यहाँ सम्म “कुण्डकुण्ड पानी मुण्ड मुण्ड बुद्धी” नै लागेको थियो ।

तर अर्को थरी मैले अत्यन्त माया मान्ने मित्रबाट जो आफै पार्टी टुटफुट ब्यहोरेका, हामीले सहिद स्मृति केन्द्र नेपाल नामक संस्था दर्ता गर्ने वेला त्यस अघिनै छुट्टै सहिद प्रतिष्ठान गठन गरेर एम्बुलेन्स समेत संचालन गरेर अलग्गै बसेको तथा अद्याव्धी निरन्तरतामा नै हुँदाहुँदै आफुतिर फर्केर हेर्दै नहेरी झुठो निहुँ बनाएर ‘सहिद परिवार बाहिरका मानिस राखेर हामीलाई निकालिस’ भन्ने जस्तो झुटो आरोप र विचित्रको डाहा पोखिएको देखेर निकै अचम्भित भईयो ।

विर्सन हुन्न कि अरू कसैले नभइ शान्तिप्रक्रीया हुँदै यहाँसम्म आइपुग्न नेकपा (माओवदी केन्द्र) ले खेलेको भुमिका र सहिदहरूको योगदानको प्रतिफल नै हामी यहाँ छौँ । तर यसको अर्थ यो पनि होइन कि यो संस्था नेकपा (माओवादी केन्द्र) को संस्थागत निर्णयबाट गठित कुनै जनवर्गीय संगठन वा त्यसरूपमा परिचालित संस्था होस । यो त अमर सहिद परिवारहरू समेतको स्वतन्त्र पहलमा गठित विशुद्ध सामाजिक संस्था हो र यसले नेपाल सरकारको सङ्घ संस्था ऐन नियम बमोजिम चल्नु पर्दछ । साथै भुमिकामा आएको परिस्थितिजन्य परिवर्तन हामी सबैले आत्मसात गर्न सक्नु पर्दछ । यस मानेमा नेकपा (माओवादी केन्द्र) हाम्रो संस्थाको सम्मानित मानार्थ अविभावक हो भन्ने कुरा निर्विवाद तथ्य हो । त्यसैले पार्टीले अर्को व्यवस्था नगरुन्ज्याल आफ्नो पार्टी कार्यालय ढुक्कसंग सहिद स्मृति भवनमा राख्नु कुनै अन्यथा होइन ।

तर संस्थाको घोषित उद्धेश्य हासिल गर्ने सवालमा, व्यवसायिक रूपमा सभाहल संचालन गर्न, भवनको सुरक्षा निम्ति, भवनको तन्दुरुस्तीको सवाल र बत्ति पानीको सवालमा देखा परेका समस्याहरू प्रति न्यानोपनको सट्टा कहिं कतैबाट वेतुकि हकदैया प्रकट भयो भने त्यसले कसैको ओज र गरिमा धान्दैन जस्तो लाग्छ । किन कुन परिस्थितमा संस्था जन्म्यो, जसले नेतृत्व (अगुवाइ) गरेको छ उसको संस्थालाई तार्किक निश्कर्षमा पुर्याउने दायित्व र नैतिक जिम्मेवारी हुन्छ कि हुन्न, जसले खटेर काम गरेको छ, उसैलाई ‘बाहिरको’ भनेर लाञ्छित गर्नु ठिक कि वेठिक ! जस्ता छर्लङ्ग देखा पर्ने डाहा र ईर्ष्याको नाङ्गो छट्पटीको निकृष्ट संदेश (Impression) को भारी बोकियो र अन्त्यमा “जल्ने वाले जला करेँ डिउटी हमारी साथ रहेगि” भन्ने हिन्दी गित गुनगुनाउँदै डेरा तिर लागियो ।

किर्तीपुर
२०८१/५/३१

  • १२ आश्विन २०८१, शनिबार १७:१० प्रकाशित
  • Nabintech