बाँकेमा दुई महिनामा २५ दुर्घटना, १२ को मृत्यु
  • काँचुली खबर

६ असोज, नेपालगन्ज । बाँकेमा पछिल्लो दुई महिनामा २५ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ५५ जना घाइते भएका छन् भने १२ जनाको ज्यान गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पुष्पराज पन्तले चालु आर्थिक वर्ष २०८१-८२ को साउन र भदौ दुई महिनामा मात्र जिल्लाका विभिन्न स्थानमा २५ वटा सवारी दुर्घटना भएको र उक्त दुर्घटनामा परी ५५ जना घाइते भएको बताए । सो अवधिमा दुर्घटनामा परेर १२ जना सर्वसाधारणको मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ट्राफिक प्रहरीले कारबाही गर्दैै आएको छ । चालु आर्थिक वर्षको साउन र भदौ दुई महिनामा मात्र ट्राफिक प्रहरीले ५ हजार एक सय १८ सवारीसाधन तथा चालकलाई कारबाही गरेको ट्राफिक प्रहरी बाँकेले जनाएको छ ।

उक्त कारबाहीबाट ४० लाख २९ हजार रुपियाँ जरिबाना वापत् राजस्व समेत सङ्कलन भएको छ । जरिवानाका साथसाथै बाँके ट्राफिकले सम्भावित दुर्घटना न्यनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा पुगेर ट्राफिक नियम कानुनसम्बन्धी विभिन्न सचेतनाका कार्यक्रम पनि गर्दै आएको प्रहरी निरीक्षक पन्तले जानकारी दिए ।

उनका अनुसार सडक प्रयोगकर्तालाई ट्राफिक नियम, सवारी दुर्घटना, सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका उपायहरु लगायतका विषयमा सचेतना प्रदान गर्दै आइएको छ ।

ट्राफिक प्रहरीले सवारी साधनले गल्ती गरेको अवस्थामा जरिवाना मात्र गराउने नभएर सम्बन्धित पक्षलाई ट्राफिक सम्बन्धी ज्ञान र सचेतना प्रदान गर्दै आएको उनले बताए । उनले नागरिक सचेत भएपछि अटोमेटिक रुपमा सवारी दुर्घटनामा कमी आउने उद्देश्यले विभिन्न सचेतना तथा जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको बताए ।

ट्राफिक प्रहरीले विभिन्न सचेतनाका कार्यक्रम बढाउँदै लगे पनि ट्राफिक नियम पालनाको अटेरीका कारण सडक दुर्घटना हुने र त्यसबाट सर्वसाधारण घाइते हुनुका साथै ज्यानसमेत जाने गरेको उनको भनाइ छ ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार बाँकेमा गत आर्थिक वर्ष २०८-८१ मा १ सय ५८ वटा सवारी दुर्घटना भएका थिए । सो दुर्घटनामा परी ४८ पुरुष, १६ महिला र २ बालक गरी ६६ जना सर्वसाधारणको ज्यान गएको थियो । २१२ जना घाइते भएका थिए ।

  • ६ आश्विन २०८१, आईतवार १२:५८ प्रकाशित
  • Nabintech