यस वर्ष बाँकेमा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान
  • काँचुली खबर

१ असोज, नेपालगन्ज । बाँकेमा सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत यस वर्ष जिल्लामा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बर्दियाले विगत ३ वर्षदेखि बाँकेमा धान जोन परियोजना लागू गरी धान खेती प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । सो परियोजनाअन्तर्गत यस वर्ष १ लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको हो ।

बाँकेको जानकी, खजुरा र बैजानाथ गाउँपालिकाको ११ वटा वडामा परियोजनाले धान खेतीका लागि सिँचाइ, कृषि यान्त्रीकरण, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ ।

परियोजनाअन्तर्गत जानकी गाउँपालिकाको वडा नं १, २, ३, ४, खजुरा गाउँपालिकाको २ र ४, बैजनाथ गाउँपालिकाको २, ३ र ४ गरी ११ वटा वडामा कार्यक्रम लागू गरिएको छ । जसअन्तर्गत २ हजार ३४१ हेक्टर क्षेत्रफलमा धान खेतीमा प्रवद्र्धन गर्ने कार्यक्रम लागू गरिएको छ ।

चालु आर्थिक वर्षको यो धान सिजनमा करिब १ लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको परियोजनाका कृषि अधिकृत गणेश यादवले बताए । उनका अनुसार परियोजनाले समेटेको कार्यक्षेत्रअन्तर्गत ८१४ जना कृषक तथा समूह र सहकारी यो योजनामा जोडिएका छन् । ती किसानहरूका लागि यो चालु आर्थिक वर्षमा साना सिँचाइ, धानको चक्लाबन्दी, कष्टम हायरिङ सेन्टर स्थापना, धानको बिज वृद्धि, कृषि यान्त्रीकरणमा सहयोग, पोस्ट हार्वेस्ट, सामग्री वितरण, औद्योगिक संरचना निर्माण तथा मेसिनरी सहयोग, व्यावसायिक प्याज प्रवद्र्धन कार्यक्रम, तरकारी क्षेत्र बिस्तारलगायतका कार्यक्रम रहेको परियोजनाका सूचना अधिकारी ध्रुवराज जोशीले बताए ।

बाँकेमा परियोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ बाट तरकारी जोनको कार्यक्रम पनि सञ्चालन गरिँदै छ । जसअन्तर्गत करिब ५०० हेक्टर तरकारी खेतीमा सहयोग गर्ने परियोजनाका सूचना अधिकारी जोशीले जानकारी दिए । चालु आर्थिक वर्षमा १ करोड २९ लाख धान खेती र ५० लाख तरकारी खेती प्रवद्र्धनका लागि बजेट रहेको परियोजनाले जनाएको छ ।

  • १ आश्विन २०८१, मंगलवार १३:१३ प्रकाशित
  • Nabintech