आज लुम्बिनी, मधेश र काेशी प्रदेशमा भारी वर्षाकाे सम्भावना
  • काँचुली खबर

१९ भदौ, काठमाडौं । आज दिउँसो कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज रातिमा भने कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ र अहिले नेपालभर आंशिकदेखि साधारणतया बदली छ ।

महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार अहिले वर्षा गराउने बादल लुम्बिनी प्रदेशतिर एकत्रित भइरहेको छ ।

बंगालको खाडिमा विकसित चक्रवातको बाहिरी घेराका बादल नेपालसम्म आउँदा भदौ १६ गते देशभर झरी परेको थियो । अहिले त्यो निष्कृय भइसकेकाले नेपालमा अहिले असर छैन । तर मनसुनी वायुको असर कायमै रहेकाले वर्षा हुने क्रम भने जारी छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘बंगालको खाडीमा विकसित चक्रवातको बाहिरी घेराका बादल र तिब्बत तर्फबाट आएको बादलले गर्दा नेपालमा दुई दिन अघि मनसुन झनै सक्रिय भएको थियो । दुई दिन अघिको जस्तो अवस्था अहिले छैन । तर मनसुनको असर भने कायमै छ ।’

मौसमविदका अनुसार मनसुनको प्रकृति नै दिउँसो १२ बजेपछि सक्रिय हुने र रातिमा सक्रियता झन् बढ्ने हुन्छ । अहिले पनि अवस्था त्यस्तै छ । मंगलबार बेलुकीदेखि रातिसम्म वर्षा भएको थियो ।

मंगलबार बेलुकी काठमाडौं उपत्यकामा पनि भारी वर्षासँगै आएको बाढीले विष्णुमती नदीको बाढीले खतरा तह पार गरेको थियो । बाराको कलैया र आसपासका क्षेत्रमा भारी वर्षा भएको थियो ।

  • १९ भाद्र २०८१, बुधबार ०७:३५ प्रकाशित
  • Nabintech