गाभरस्थित सामुदायिक जिन बैंकमा कोदोको परीक्षण सुरु
  • काँचुली खबर

११ भदौ, कोहलपुर । बाँकेको गाभरस्थित सामुदायिक जिन बैंकमा कोदोको परीक्षण सुरु गरिएको छ । राष्ट्रिय जिन बैंकका प्राविधिक अधिकृत प्रदीप थापाका अनुसार स्थानीयको साझेदारीमा सुख्खा ठाउँमा समेत सहन गर्न सक्ने नौ प्रकारका कोदोको परीक्षण सुरु भएको हो ।

रैथाने बालीको संरक्षण, सुख्खा ठाउँमा समेत कोदो जस्तो महत्त्वपूर्ण रैथाने बाली लगाउन मिल्ने गरी कोदोको बिउको परीक्षण गरिएको हो । परीक्षण गरिएका नौमध्ये पाँच वटा जिन बैंकले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुई वटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेको र अन्य दुईवटा किसानका जात छन् ।

प्राविधिक थापाका अनुसार अहिले लगाएको कोदोको प्रतिफल मङ्सिरसम्म आउनेछ । प्रतिफल सकारात्मक नै हुने आशा गरिएको बताउँदै उनले त्यसपछि व्यावसायिक खेतीको कामलाई प्रोत्साहन गरिने जानकारी दिए । परीक्षण सफल भएको खण्डमा सुख्खा ठाउँमा समेत कोदोखेती गरेर आयआर्जन गर्न सकिने थापाको भनाइ छ ।

२०७८ सालमा चिसापानीको गाभरमा सरकारले पहिलो सामुदायिक जिन बैंक स्थापना गरेको थियो । त्यहाँ कोदोको उत्पादनको प्रशस्त सम्भावना रहेको घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले बताए । उनका अनुसार हालसम्म नार्कले तराईमा समेत लगाउन सक्ने एउटा कोदोको जात विकास गरेको छ ।

गाभरमा सुरु गरिएको कोदो परीक्षणले जिल्लाका किसानलाई समेत उत्साहित बनाएको छ । सामुदायिक जिन बैंक स्थापनासँगै समुदायस्तरमा त्यसको सञ्जाल विस्तार गरेर विभिन्न ठाउँमा कृषि जैविक विविधता संरक्षण गरिएको सञ्जालका अध्यक्ष पुरमल बस्नेतले जानकारी दिए । उनले सो कार्यमा स्थानीय किसानले पनि सहयोग गरिरहेको बताए ।

  • ११ भाद्र २०८१, मंगलवार १८:४२ प्रकाशित
  • Nabintech