१० भदौ, नेपालगन्ज । धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई उत्सवमय बनाउन प्रि-इभेन्टका रूपमा नेपालमै पहिलो पटक नेपालगन्जमा १० किलोमिटर रात्रि दौड आयोजना गर्न लागिएको छ ।
नेपालगन्ज रात्रि दौड आउँदो संविधान दिवस २०८१ असोज ३ गते बिहीबार राति हुनेछ । राति ९ बजे स्थानीय बीपीचोकबाट दौड सुरु हुने बताइएको छ । एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण रुटमा रात्रिकालीन दौड सञ्चालन गरिनेछ ।
नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्डस्ले धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई भव्य बनाउन अन्य विभिन्न १० इभेन्टसँगै रात्रि दौड आयोजना गर्न लागेको जनाएको छ ।
भदौ १ देखि खेलाडीको नाम दर्ता खुलिसकेको संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । पहिलो पटक आयोजना हुन लागेको हुँदा नाइट रनमा व्यावसायिक र कम्तीमा ५ किमी दौडको अनुभव भएका धावक-धाविकालाई मात्र सहभागी गराइने आयोजकको भनाइ छ ।
पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइने आयोजकले जनाएको छ । १० किमी रात्रि दौडसँगै अन्यका लागि फन रनका रूपमा सहभागी गराइने छ । पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार नगदसहित पुरस्कृत गरिनेछ ।
भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार नगद प्रदान गरिने छ । दर्ता मिति भदौ १५ गतेदेखि २० गतेसम्म राखिएको छ । रात्रिकालीन दौड भिन्दै प्रकृतिको भएको हुँदा आयोजकले विशेष व्यवस्थापन, तयारी र सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ ।
१० भाद्र २०८१, सोमबार १६:४१ प्रकाशित