छानविन समितिद्धारा ‘सेन्थेटिक ट्रयाक’को स्थलगत निरीक्षण
  • काँचुली खबर

५ भदौ, नेपालगन्ज । नेपालगन्ज रङ्गशालामा निर्माण गरीएको सेन्थेटिक ट्रयाकको स्थलगत अध्ययन तथा निरीक्षण गरीएको छ । निर्माण सम्पन्न भएको एक महिनामै सेन्थेटिक ट्रयाक उप्किएपछि सो बारे अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गठन गरेको समितिले छानबिन सुरु गरेको हो ।

बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा समितिका संयोजक लेख बहादुर क्षेत्री तथा सदस्यद्धवय चन्द्र बहादुर गुरुङ र पूर्णबहादुर सुन्दास सहितको टोलीले सेन्थेटिक ट्रयाकको स्थलगत निरिक्षण गरेको हो । राखेपका इन्जिनियर समेत रहेका समितिका सदस्य सुन्दासले सेन्थेटिक ट्रयाकको प्राविधिक परिक्षणकालागी विवरण संकलन गर्ने काम भएको बताए ।

ठेकेदार कम्पनीले निर्माण पूरा गरेको एक महिना ननाघ्दै ट्रयाक क्रयाक भएर उप्किएपछि त्यसको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्ले तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

राखेपका सदस्य एवम् उपसमितिका संयोजक क्षेत्रीले तीन दिनभित्र अध्ययन अनुसन्धान गरेर प्रतिवेदन पेस गर्न परिषद्ले खटाएको जनाउँदै सोही बमोजिम सेन्थेटिक ट्रयाकको निरिक्षण गरीएको बताए ।

क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा सेन्थेटिक ट्रयाकको ‘डि एरिया’ मा उप्किएको, उत्तर-दक्षिण साइडमा विभिन्न स्थानमा पानी जम्ने गरेको पाइएको बताए । ‘हामीले औपचारिक रुपमा अध्ययन गरेका छौं, यसका कमी, कमजोरी देखिएका छन्, त्यसलाई लिपिवद्ध गरेर उतार्छौ,’ उनले भने ।

सो सेन्थेटिक ट्रयाक निर्माणकै क्रममा विभिन्न कमजोरीहरू देखिएको भए पनि कतैबाट अनुगमन निरीक्षण नहुँदा कमसल निर्माण भएको छानबिन उपसमितिमा प्राविधिक सदस्य रहेका राखेपका पूर्वराष्ट्रिय प्रशिक्षक गुरुङले बताए । उनले भने, ‘‘राखेपका इन्जिनियरहरूकै लापरबाहीले यहाँ धेरै त्रुटि भएका छन् । खेलाडीहरूले पाइला टेक्न नपाउँदै ट्रयाक भत्कियो ।’’

यसअघि दसौँ राष्ट्रिय खेलकुदका लागि खेलाडीलाई प्रशिक्षण गराउने उद्देश्यले सेन्थेटिक ट्रयाक निरीक्षण गर्ने क्रममा ट्रयाकमा क्रयाक भएको देखिएपछि सो बारेमा राखेपलाई जानकारी गराइएको थियो ।

राखेपले सेन्थेटिक ट्रयाक निर्माणकालागि ठेकेदार कम्पनी ‘पञ्चकन्या सिनकुट जेभी’ ललितपुरलाई ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपैयाँमा ठेक्का दिएको थियो । सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकोमा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गरेको थियो । निर्माण सम्पन्न भएको एक महिनामै उप्किएपछि सेन्थेटिक ट्रयाकको गुणस्तरमाथी प्रश्न उठिरहेको छ ।

  • ५ भाद्र २०८१, बुधबार १५:२४ प्रकाशित
  • Nabintech