कार्यालय सहयाेगी हुँदै वडाध्यक्ष भएका गुरूङ राेजगारीकालागी विदेश पलायन
  • काँचुली खबर

२५ साउन, घोराही । दाङको राप्ती गाउँपालिका-८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन भएका छन । विसं २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित गुरुङ साउन २० गते रोजगारीका लागि विदेश गएका हुन । निर्वाचनअघि गुरुङ सोही वडामा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । कार्यालय सहयोगी भएर काम गर्दा मतदाताको मन जितेर उनी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

नेकपा (एमाले) बाट उम्मेदवार बनेका गुरुङ १३४ मतान्तरले नेपाली कांग्रेसका प्रभाकरदेव चौधरीलाई हराउँदै वडाध्यक्षमा निर्वाचित भएका थिए । कार्यालय सहयोगीबाट वडाध्यक्षमा निर्वाचित गुरुङले निकै चर्चा समेत पाएका थिए ।

उनले एकाएक वैदेशिक रोजगारीको यात्रा थालेपछि भने वडावासी आश्चर्यमा परेका छन् । वडा सदस्यहरू पनि अल्मलिएका छन् । “वडामा कुरा भएको थिएन, एक्कासि विदेश जानुभयो रे भन्ने सुनियो,” वडा सदस्य दयाराम चौधरीले भने । वडाध्यक्ष गुरुङ बेलायत पुगेकाे बताइएको छ ।

वडा सदस्य चौधरीका अनुसार वडा सचिवले गर्ने कामदेखि सेवाग्राहीको निवेदन लेखिदिनेसम्मका सबै काम उनी आफैँ गर्थे । आर्थिक सङ्कटले घेरेपछि वैदेशिक रोजगारीलाई रोज्नु परेको उनकी श्रीमती सङ्गीता गुरुङले बताईन । उनले भनिन, “जनताको सेवामा रमाउने मान्छे हो तर रहरले मात्र हुने रहेनछ । आर्थिक समस्याले च्यापेपछि बाध्यताले विदेश जानुभएको हो ।”

“आमा लामो समयदेखि बिरामी हुनुभयो । उहाँको उपचारमा धेरै रकम खर्च भयो । ऋण पनि लाग्यो, यहाँ बसेर तिर्न सक्ने अवस्था नभएपछि विदेश जानुभएको हाे” सङ्गीताले भनिन ।

वडाध्यक्ष गुरुङका बुवा नीमबहादुर गुरुङ बेलायतको सेवानिवृत्त सेना थिए । बुवाको मृत्युपछि बेलायत सरकारले निवृत्त भएका सेनाका छोराछोरीलाई रोजगार दिने व्यवस्था गरेका कारण उनी पनि विदेश गएका हुन । वडाध्यक्षका रूपमा उनले मासिक ३० हजार रुपियाँ सेवा सुविधा पाउँदै आएका थिए ।

हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनले समाल्दै आएकी छन । वडा सदस्य पुनलाई जिम्मेवारी दिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।

गाेरखापत्रबाट

  • २५ श्रावण २०८१, शुक्रबार १०:३१ प्रकाशित
  • Nabintech