बाँके र दाङमा भारी वर्षा, शहरी क्षेत्रमा डुबान
  • काँचुली खबर

१६ साउन, कोहलपुर । बिहिबार बाँके र दाङमा भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा बाँके र दाङमा भारी वर्षा भएको हो ।

बाँकेको कुसुम, सिक्टा, र दाङको घोरही, पधमपुर, लालमटीया, कोइलाबास र आसपासका वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्र भएर बहने पश्चिम राप्ती र अन्य स-साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

वर्षाका कारण बाँकेको कोहलपुर र नेपालगन्जका केही क्षेत्र डुबानमा परेका छन । विशेषगरी शहरी क्षेत्रमा डुबानको समस्या देखिएको छ । नेपालगन्जका अधिकाशं ठाँउ जलमग्न भएका छन भने स्थानीयको घरभित्र पानी पसेको छ ।

बुधवार बिहानैदेखि निरन्तर परेको वर्षाले विभिन्न ठाउँका सयौं घर र पसलमा पानी पसेर सामान क्षति गरेको हो ।

वर्षाले उपमहानगरका अधिकांश भागमा पानी जमेपछि दर्जनौँ घरमा पानी पसेर डुबान भएको स्थानीयले पीडा सुनाएका छन् । नगरको ईदगाह रोड, घरबारी टोल, न्यूरोडको सेतुविक चोकदेखि त्रिवेणी मोडसम्मको क्षेत्र, गणेशपुरको बस्ती, बसपार्क क्षेत्र, धम्बोझी, एकलैनी टोल, बिपी चोक, गुरुद्वारा रोड, बिलासपुर, कोरियनपुर र भृकुटीनगर तथा वडा २०, १४, २२ र २३ का धेरै क्षेत्रमा पानी भरिएर ती क्षेत्रहरु जलमग्न भएका छन् ।

इदगाहरोड, घरबारी टोल, न्यूरोड र एकलैनीका अधिकांश पसल र घरमा समेत पानी पसेको स्थानीय बासिन्दाले जनाएका छन् ।

त्यसैगरी दाङमा समेत वर्षाका कारण जनजिवन प्रभावित भएको स्थानियले बताएका छन ।

  • १६ श्रावण २०८१, बुधबार १६:१५ प्रकाशित
  • Nabintech