नेपालगन्ज नाकाबाट एक अर्ब ११ करोडको आलु आयात
  • काँचुली खबर

९ साउन, नेपालगन्ज । नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड रुपियाँ बढीको आलु आयात भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपालगन्ज नाकाबाट मात्र एक अर्ब ११ करोड ६१ लाख ५ हजार रुपियाँको ४ करोड ४९ लाख ८४ हजार ६६९ किलो आलु भारतबाट आयात गरिएको हो ।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा १८ करोड रुपियाँको आलु आयात वृद्धि भएको हो । आर्थिक वर्ष २०७९/८० मा ९३ करोड ६० लाख ६९ हजार मूल्य बराबरको ३ करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा १८ करोड भन्दा बढीको आलु आयात भएको बताए ।

उनले आलु आयातबाट नेपालगन्ज भन्सारले आव २०७९/८० मा १४ करोड ७७ लाख २२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । गत आव २०८०/८१ मा २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन गरेको बताए ।

आलुको आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि अघिल्लो आवको तुलनामा गत आवमा १३ करोड रुपियाँ वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकील अहमद खाँले गत केही वर्ष यता बाँके, बर्दिया, दाङ र सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा हुँदै आए पनि भारतबाट पनि आयात नघट्नुले माग धेरै रहेको प्रमाणित गरेको बताए ।

उनले आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै अझै पनि ठुलो परिमाणमा आयात हुनुले चिन्ता बढाएको बताए ।

केही वर्ष पहिलेसम्म विभिन्न तरकारीमा भारतकै भर पर्नुपर्ने बाध्यता रहे पनि अहिले आलु बाहेक अन्य अधिकांश तरकारीको आयात भने घट्दै गएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

  • ९ श्रावण २०८१, बुधबार १६:४० प्रकाशित
  • Nabintech